काठमाडौं- ३ मा माओवादीको नजर, घिसिङलाई उम्मेदवार बनाउन सक्ने

काठमाडौं, ७ भदौ । सत्तारुढ दलहरूबीच निर्वाचन क्षेत्र भागबन्डाको रस्साकस्सी चलिरहेको बेला नेकपा माओवादी केन्द्रले काठमाडौं क्षेत्र नम्बर ३ मा आँखा लगाएको छ ।

काठमाडौ क्षेत्र नम्बर- १, ८, ९ र १० मध्ये प्रतिनिधिसभामा कम्तीमा ३ क्षेत्र दाबी गरिरहेको माओवादीले एकाएक क्षेत्र नम्बर-३ मा आँखा लगाउनु संयोग हो वा सत्य त्यो खुलासा हुन बाँकी छ ।

सो क्षेत्रमा पार्टीको प्रभावभन्दा पनि उम्मेदवार बनाउने सम्भावित पात्रको चर्चाका कारण माओवादीले आँखा लगाएको हुनसक्ने अनुमान गरिएको छ । यो क्षेत्र माओवादीले पाउँदा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ उम्मेदवार बन्‍न सक्ने माओवादीमा चर्चा छ ।

यद्यपि घिसिङले यसबारे केही बोलेका छैनन् । उनी उम्मेदवार बन्‍ने अवस्थामा प्राधिकरणबाट राजीनामा दिनुपर्ने हुन्छ । माओवादीले क्षेत्र पाउने बित्तिकै घिसिङबारे निर्णय हुने समाचार स्रोतको दाबी छ ।

माओवादीले क्षेत्र नम्बर ३ लिनका लागि क्षेत्र नम्बर १ मा गरेको दाबी छाड्ने छ । क्षेत्र नम्बर-१ मा अर्थमन्त्री जनार्दन शर्माका कान्छो भाइ अनिल शर्मा उम्मेदवार बन्‍ने चर्चा छ । सो क्षेत्रमा अनिल शर्मालाइ ब्याक गराएर नेपाली काङ्ग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई सत्ता गठबन्धनको साझा उम्मेदवार बनाउने अनुमान छ ।

काठमाडौं -३ नेपाली काङ्ग्रेसको प्रभाव भएको क्षेत्र हो । गएको २०७४ को निर्वाचनमा यो क्षेत्रबाट एमाले पोलिट्ब्युरो सदस्य कृष्ण राईले काङ्ग्रेस केन्द्रीय सदस्य अम्बिका बस्‍नेतलाई पराजित गरेका थिए । हाल यो क्षेत्रमा एमालेले राईलाइ नै उम्मेदवार बनाउने चर्चा छ ।

नेपाली काङ्ग्रेसले पाएको अवस्थामा भने काङ्ग्रेस केन्द्रीय सदस्य अम्बिका बस्नेत, महासमिति सदस्य तथा युवा नेता हरिबोल भण्डारी र गोकर्णेश्वर नगरपालिकाका प्रथम मेयर तथा क्षेत्रीय सभापति सन्तोष चालिसे बलिया दाबेदार हुन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय