सत्ता गठबन्धनविरुद्ध एमाले पनि ९ दलको गठबन्धन बनाउँदै

काठमाडौं, ७ भदौ । प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको मिति नजिकिँदै गर्दा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले आक्रामक ढंगले चुनावी गठबन्धन बनाउन कस्सिएको छ ।

एमालेले सत्ता गठबन्धनभन्दा बाहिर रहेका साना दललाई आफ्नो गठबन्धनमा जोड्दै छ । खासगरी एमालेले महन्त ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी, राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा, कमल थापा नेतृत्वको राप्रपा नेपाल, एकनाथ ढकाल नेतृत्वको परिवार दल, सिके राउत नेतृत्वको जनमत पार्टी, रेशम चौधरी, हृदयश त्रीपाठी नेतृत्वको पार्टीसँगै स्वतन्त्र र केही जातीय पार्टीसँग ठाउँ हेरेर गठबन्धन गर्दैछ ।

चुनावको लागी ‘भ्यागुताको धार्नी’ बोकेर हिँड्न बाध्य एमालेले अन्य दलका केही नेतालाई पार्टी प्रवेश गराएर टिकट दिने तयारी समेत गरेको स्रोतको भनाइ छ । एमालेले प्रतिनिधि सभाको ११० सिटमा आफ्ना उम्मेदवार उठाउने र बाँकी ५५ सिटमा अन्यदल र स्वतन्त्र व्यक्तिलाई सघाउने एक नेताले बताए ।

यसो गर्दा आफुले जित्‍ने सिट र अरुको सिट जोडेर सत्ताको नेतृत्व गर्ने एमालेको दाउ छ । तर, राजेन्द्र लिङ्देन र कमल थापासहितको राप्रपा र एकनाथ ढकालको परिवार दल एवं हृदयेश त्रिपाठीको जनता प्रगतिशीलसँग तालमेल गर्ने एमालेको नीतिलाई लिएर केही एमाले नेताहरू खुसी छैनन् ।

तालमेल गर्दा एमालेले झापामा राजेन्द्र निङ्देन, मोरङमा रेखा थापा, सिराहमा सिके राउत, महोत्तरीमा महन्थ ठाकुर, मकवानपुरमा कमल थापा, धादिङमा बुद्धिमान तामाङ, चितवनमा विक्रम पाण्डे, नवलपरासीमा हृदयेश त्रीपाठी, बाँकेमा धवल शमशेर राणा र जुम्लामा ज्ञानेन्द्र शाहीलाई छाड्नै पर्छ ।

सत्ता गठबन्धनमा टिकट बाँडफाँडको रस्साकस्सी चलिरहेको बेला प्रतिपक्षी एमालेमा पनि टिकटकै कारण असन्तुष्टि बढ्ने पक्का छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय