‘द हन्ड्रेड’ क्रिकेट: वेल्श फायर अझै जीतविहीन, ब्रेभको सहज जीत
काठमाडौं, ७ भदौ । इंग्ल्यान्डमा जारी ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगितामा वेल्श फायरले लगातार पाँचौं हार व्यहोरेको छ । गएराति भएको खेलमा वेल्श फायरलाई साउथर्न ब्रेभले ९ विकेटले हराएको हो ।
वेल्शले दिएको १३० रनको लक्ष्य ब्रेभले ८२ बलमा केवल एक विकेट गुमाएर पूरा गर्यो । पल स्टर्लिङ ७४ रनमा अविजित रहे भने क्विन्टन डिककले ३७ रन बनाए । वेल्शका ड्वेन प्रिटोरियसले एक विकेट हात पारे ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेल्शले निर्धारित १०० बलमा ८ विकेट गुमाएर १२९ रन बनाएको थियो । लुइस डिप्लोएले सर्वाधिक ३७ रन बनाएका थिए भने म्याथिउ क्रिच्ले ३२ रनमा अविजित रहे ।
ब्रेभका जर्ज गार्टनले ३ विकेट लिए भने जेम्स फुलरले २ तथा माइकल होगन र जेक लिन्टटले १-१ विकेट लिए ।
यस जीतसँगै ब्रेभको ६ खेलबाट ४ अंक भएको छ र सातौं स्थानमा छ । समान खेल खेल्दा अंकविहीन रहेको वेल्श फायर पुछारमा छ ।