ओलीको आक्रोश- मनपरी ढंगले विधेयक नल्याऊ, च्यातेर फालिन्छ
काठमाडौं, ६ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा आपत्ति जनाएका छन् ।
कानुनमन्त्रीलाई हिरोको संज्ञा दिँदै उनले पीडितहरुमाथि दमन गरेको भन्दै यस्ता विधेयक च्यातेर फाल्ने चेतावनी दिएका हुन् ।
सोमबार सिन्धुपाल्चोकमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै ओलीले सरकारलाई सम्हालिएर व्यवहार गर्न सुझाव दिएका थिए ।
कानुनमन्त्री गोविन्द बन्दीलाई संकेत गर्दै उनले भने, ‘एउटा चटके मन्त्री ६ महिनाका लागि आएर हिरो हुनका लागि कसैले नगरेको मैले सकेँ भनेर पीडितहरुमाथि बदजफ्ती गर्ने ?’
‘मनपरी ढंगले विधेयक ल्याएको छ । बहुमत छ भनेर पास गर्न खोजेको छ । त्यस्ता विधेयकहरु च्यातेर फालिन्छ ।’, ओलीले भने । प्रतिपक्षी दलसँग सरसल्लाह नगरी मनपरी विधेयक ल्याएकोमा उनले आपत्ति जनाएका थिए ।
‘पीडितहरुको आँसुमा खेलबाड गर्न, अझ पीडा थप्नु शान्ति प्रक्रिया होइन । पीडा टुंग्याउनुपर्यो, सद्भाव कायम गर्नुपर्यो र मेलमिलाप हुनुपर्यो ।’, उनले थपे ।