‘द हन्ड्रेड’ क्रिकेट: रेकर्ड स्कोरका साथ सुपरचार्जर्समाथि म्यान्चेस्टरको जीत
काठमाडौं, ६ भदौ । इंग्ल्यान्डमा जारी ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगितामा म्यान्चेस्टर ओरिजिनल्सले तेस्रो जीत निकालेको छ । म्यान्चेस्टरले नर्थन सुपरचार्जर्सलाई २३ रनले हराएको हो ।
म्यान्चेस्टरले दिएको २०९ रनको विशाल लक्ष्य पछ्याएको सुपरचार्जर्सले पूरा १०० बल खेल्दै ७ विकेट गुमाएर १८५ रन मात्र बनाउन सक्यो । उसका एडम होशले सर्वाधिक ५९ रन बनाए भने एडम लिथले ४६ रन बनाए ।
म्यान्चेस्टरका पल वाल्टरले ३ विकेट लिँदा जोसुवा लिटिलले २ तथा आन्द्रे रसल र टम हार्टलीले १-१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको म्यान्चेस्टरले निर्धारित १०० बलमा ५ विकेट गुमाएर २०८ रन बनाएको थियो । ‘द हन्ड्रेड’मा बनेको यो अहिलेसम्मकै सबैभन्दा उच्च स्कोर हो ।
फिलिप साल्टले ५५ रन बनाएका थिए ट्रिस्टन स्टब्सले ४६ तथा लाउरी इभान्सले ४५ रन बनाए । सुपरचार्जर्सका ड्वेन ब्राभोले २ विकेट लिँदा बेन रेइन, आदिल राशिद र डेभिड विजाले १-१ विकेट लिए ।
जीतसँगै म्यान्चेस्टरको ६ खेलबाट ६ अंक भएको छ र तेस्रो स्थानमा उक्लिएको छ । समान खेलबाट ४ अंक रहेको सुपरचार्जर्स छैंटौं स्थानमा छ ।