प्रदीप दाई र म
सरिता गिरीआज म प्रदीप दाईको बारेमा यस्तो कुरा लेख्न गइरहेको छु जुन नियतिले निर्धारित गरेको हो । उहाँलाई माया गर्ने धेरै जना छन् । उहाँप्रति सबैको प्रेमभाव भएको कुरामा मेरो असीम आदर छ । तर आज मैले यो लेखिन भने सायद कहिले पनि लेख्न सक्दिन होला ।

उनको कान्छो भाई लक्ष्मण गिरी र प्रदीप दाईबीच अचम्मको प्रेम थियो । त्यहाँ भक्ति पनि थियो र सखाको प्रेम पनि थियो । हामी तीनैजना सँगै भएको बेला म यो भन्दै जिस्काउँथे पनि कि- ‘इन्जिनियर साहेब आपके भाइ से भी ज्यादा आपके कार्यकर्ता जैसे हैं’ । दुई जना बीचको असीम प्रेमको एक कडी म पनि थिएँ ।

प्रदीप दाईसँग मेरो भेट पटनामा भएको थियो । भर्खर कक्षा ११ को जाँच दिएको थिएँ । मेरो काकी नेपालको हुनुहुन्छ र निर्वासनको समयमा उहाँहरु पटना गईराख्नु हुन्थ्यो । त्यस्तै एउटा भ्रमणको दौरानमा पटनामा तीन-चारजना नेपाली मेरो काकीको कोठामा बस्नुभएको थियो । म बाहिर थिएँ र मलाई बोलाइयो ।
म कोठामा पसी एक कुनामा बसिहालें । उहाँले एकपछि अर्को प्रश्न गर्न थाल्नुभयो, हिन्दीमा । मैले सकेसम्म एउटा राम्रो विद्यार्थी जस्तो जवाफ दिँदै गएँ । त्यसपछि केहीबेर चुप लाग्नुभयो र एक्कासी हाँस्दै भन्नुभयो- ‘मेरी अभी शादी भी नहीं हुई हे , चलो तुम मेरे साथ भाग चलो ।’ मलाई कस्तो-कस्तो लाग्यो । म त्यस बेला मात्र १६ वर्षकी थिएँ । यो मजाक हो कि केहो जस्तो पनि लाग्यो । चुपचाप कोठा बाट बाहिर निस्कें ।
यस घटनाको लगभग २ वर्षपछि मेरो लक्ष्मण गिरीसँग मांगी विवाह भएको थियो । विवाह गरी पछि बस्तीपुर आएपछि परिवारका सदस्यहरुबारे बुझ्दा विस्तारै थाहा भयो प्रदीप गिरी भन्ने व्यक्ति लक्ष्मण गिरीका दाजु हुन् । पछि मैले थाहा पाएँ प्रदीप गिरी त्यही व्यक्ति हुन् जसलाई मैले पटनामा भेटेको थिएँ ।
उहाँ हाम्रो विवाहमा शरीक हुनुभएको थिएन । पछि भन्नु भयो, ‘जब पता चला कि मेरे ही भाई से तुम्हारी शादी हे रही है तो कुछ अजीब सा लगा और मैं शादी में नहीं आया’ ।
प्रदीप दाई सँगको थोडाबहुत संगतमा उनको विद्वतासँग प्रभावित नहुने त कुरा नै थिएन । जेठाजु र बुहारीको सम्बन्ध यस्तो हुन्छ कि मैले उहँँसँग सिक्ने अवसर वा समय पाइन । तर टाढा भएपनि राजनीतिमा उहाँ मेरो प्रेरणाको स्रोत जहिले पनि रहनुभयो । उहाँको प्रभावमा म आध्यातिमकता लाई पनि बुझें । प्रेमको आध्यात्मिक स्वरुप के हुन्छ, मैले उहाँको सँगतमा बुझें ।
जीवनमा जस्तोसुकै कठोर मोडमा उहाँको र उहाँको भाई लक्ष्मण गिरीको प्रेम र संरक्षण पाउने भाग्यमानीमध्येको एक म पनि हुँ । मेरो जीवनमा पिताबाहेक प्रभाव राख्ने दुई पुरुष लक्ष्मण गिरी र प्रदीप गिरी हुन् । आज तीनैजना यस संसारमा हुनुहुन्न ।
तीनैजना प्रति असीम श्रद्धा र प्रेम व्यक्त गर्दछु ।