राजकीय सम्मानका साथ गिरीको अन्त्यष्टि
काठमाडौं, ५ भदौ । शनिबार राति निधन भएका नेपाली काँग्रेसका नेता प्रदीप गिरिको राजकीय सम्मानका साथ आइतबार दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
अन्त्यष्टि अगाडि स्वर्गीय गिरीको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि नेपाली काँग्रेसको पार्टी कार्यालय सानेपामा राखिएको थियो ।
सरकारले चाहेको अवस्थामा कुनै व्यक्तिलाई राजकीय सम्मान सहित अन्त्यष्टि गर्न सक्ने व्यवस्था अनुरुप स्वर्गीय गिरिको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जानकारी दिए ।
गिरीलाई अन्तिम श्रद्धाञ्जली दिन प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री बालकृष्ण खाँण, अन्य मन्त्री, सांसद र सर्वसाधारण आर्यघाट पुगेका थिए । गिरीलाई छोरा सन्तोष र भतिजाहरुले दागबत्ती दिएका थिए ।
त्यसअघि उनलाई श्रद्धाञ्जली दिन नेपाली काँग्रेस पार्टी कार्यालयमा पूर्व प्रधानमन्त्रीहरु माधवकुमार नेपाल, डा.बाबुराम भट्टराई, सभामुख अग्निप्रसाद सापकोटा, पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ, मन्त्रीहरु र काँग्रेस केन्द्रीय सदस्य तथा ठूलो संख्यामा काँग्रेस कार्यकर्ता पुगेका थिए ।