जिम्बावेसँगको एकदिवसीय श्रृंखला एक खेलअगावै भारतको पक्षमा

काठमाडौं, ५ भदौ । जिम्बावे भ्रमणमा रहेको भारतीय क्रिकेट टोलीले एकदिवसीय श्रृंखलामा लगातार दोस्रो जीत निकाल्दै एक खेलअगावै श्रृंखला जितेको छ । शनिबार भएको खेलमा भारतले जिम्बावेलाई ५ विकेटले हराएको हो ।

१६२ रनको लक्ष्य भारतले २५.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो । विकेटकिपर सन्जु सामसन ४३ रनमा अविजित रहे । जीतका लागि एक रन चाहिएको अवस्थामा उनले विजयी छक्का प्रहार गरेका थिए ।

त्यसैगरी शिखर धवन र शुभमन गिलले समान ३३ रन बनाए । जिम्बावेका लुक जोङ्वेले २ विकेट लिए भने टनका चिभाङ्गा, भिक्टर न्याउची र सिकन्दर राजाले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावेले ३८.१ ओभरमा अलआउट हुँदै १६१ रन बनाएको थियो । सिन विलियम्सले ४२ रन बनाउँदा रायन बर्ल ३९ रनमा अविजित रहे ।

भारतका शार्दुल ठाकुरले ३ विकेट लिँदा मोहम्मद सिराज, दीपक हुडा, प्रसिद्ध कृष्णा, अक्षर पटेल र कूलदीप यादवले  १-१ विकेट लिए ।

योसँगै तीन खेलको श्रृंखलामा भारतले २-० को अग्रता लिएको छ र एक खेलअगावै श्रृंखला आफ्नो नाममा गरेको छ । तेस्रो तथा अन्तिम खेल सोमबार हुनेछ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय