राहुलको कप्तानीमा रहेको भारत जिम्बावेमाथि १० विकेटले विजयी
काठमाडौं, २ भदौ । जिम्बावे भ्रमणमा रहेको भारतीय क्रिकेट टोलीले एकदिवसीय श्रृंखलामा विजयी सुरुवात गरेको छ । केएल राहुलको कप्तानीमा रहेको भारतले जिम्बावेमाथि १० विकेटको जीत हासिल गरेको हो ।
१९० रनको लक्ष्य भारतले ३०.५ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । ओपनर शिखर धवन ८१ तथा शुभमन गिल ८२ रनमा अविजित रहेका थिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावेले ४०.३ ओभरमा अलआउट हुँदै १८९ रन बनाएको थियो । रेगिस चकबभाले सर्वाधिक ३५ रन बनाए भने ब्राड्ली इभान्स ३३ रनमा अविजित रहे ।
भारतका दीपक चहर, प्रसिद्ध कृष्णा र अक्षर पटेलले ३-३ विकेट लिए भने मोहम्मद सिराजले १ विकेट हात पारे ।
भारतले कुनैपनि विकेट नगुमाई लक्ष्य पूरा गरेको यो दोस्रो उच्च स्कोर हो । यसअघि सन् १९९८ मा जिम्बावेसँगै भारतले १९८ रन कुनै विकेट नगुमाई लक्ष्य पूरा गरेको थियो ।
त्यसैगरी जिम्बावेविरुद्ध लगातार १३ खेलमा विजयी रहनु पनि भारतका लागि अर्को कीर्तिमान हो । सन् २०१३ देखि २०२२ सम्मका १३ खेलमा भारत विजयी भएको छ ।
योसँगै तीन खेलको श्रृंखलामा भारतले १-० को अग्रता लिएको छ । दोस्रो खेल शनिबार हुनेछ ।
केही नियमित खेलाडीहरुलाई विश्राम दिइएको हुँदा यस श्रृंखलाको कप्तानी राहुलले गरिरहेका छन् ।