अफगानिस्तानसँगको टी-२० श्रृंखला आयरल्यान्डलाई
काठमाडौं, २ भदौ । अफगानिस्तानसँगको पाँच खेलको टी-२० श्रृंखला घरेलु टोली आयरल्यान्डले जितेको छ । बुधबार भएको पाँचौं तथा निर्णायक खेलमा आयरल्यान्ड ७ विकेटको जीत निकाल्दै श्रृंखला ३-२ ले जितेको हो ।
वर्षा बाधक बनेको खेलमा ७ ओभरमा ५६ रनको लक्ष्य पछ्याएको आयरल्यान्डले २ बल बाँकी छँदा ३ विकेटको क्षतिमा पूरा गर्यो । आयरल्यान्डको जीतमा पल स्टर्लिङले १६ तथा लरकान टकरले १४ रन बनाए । अफगानिस्तानका मूजीब उर रहमानले २ तथा राशिद खानले १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले १५ ओभरमा ५ विकेट गुमाएर ९५ रन बनाएपछि वर्षाले खेल रोकिएको थियो । उस्मान घानी ४४ रनमा अविजित थिए । आयरल्यान्डका मार्क अडेयरले ३ तथा जोसुवा लिटिलले २ विकेट लिए ।
त्यसपछि अफगानिस्तानको पारी वर्षाले अगाडि बढ्न नसकेपछि डकवर्थ लुइस नियमबाट आयरल्यान्डका लागि ७ ओभरमा ५६ रनको लक्ष्य तय भएको थियो ।
श्रृंखलाको पहिलो र दोस्रो खेल आयरल्यान्डले जितेको थियो भने त्यसपछिका दुई खेल अफगानिस्तानले जित्दै श्रृंखलाको आशा जीवितै राखेको थियो ।