देउवाको यस्तो आश्‍वासनपछि कोइराला पक्ष ‘ब्याक’ !

काठमाडौं, २ भदौ । नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पार्टीले पाउने सिटको टिकट बाँडफाँडमा कसैलाई अन्याय नहुने आश्‍वासन दिएपछि नेता शेखर कोइराला पक्ष ‘ब्याक’ भएको छ ।

सभापति देउवाले दुई दिनसम्म डा.कोइराला सँग छलफल गरेका थिए । नेपाली काँग्रेसको १४औं महाधिवेशनमा सभापतिको प्रत्यासी रहेका कोइरालाले सभापति देउवाले पार्टीमा एकलौटी गरेको र सरकारमा समेत जनताको अपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाउँदै आएका थिए ।

देउवाले केन्द्रीय समितिको मनोनयन र भ्रातृ संगठनको प्रमुख नियुक्त गर्दा एकलौटी गरेको भन्दै कोइराला पक्षले बुधबार राजधानीको राष्ट्रिय सभागृहमा खबरदारी सभा समेत गरेको थियो ।

कोइराला समूहले दैनिकजसो भेला र छलफल कार्यक्रम गरेर देउवामाथि दबाब सिर्जना गर्न थालेपछि सभापति देउवाले टिकट वितरणको कुरा झिकेर कोइराला पक्षलाई थामपुर पारेको बुझिएको छ ।

देउवा र कोइरालाबीच करिब एक घण्टा ‘वान टु वान’ कुराकानी भएपछि अब सरकार र पार्टी नेतृत्वको विरोध नगर्ने मनस्थितिमा कोइराला पक्ष पुगेको छ । कोइराला पक्षले निर्वाचनको टिकटमा ४० प्रतिशत हिस्सा मागेको छ ।

यसैगरी सभापति देउवाले पार्टी सञ्चालनका विषयमा पनि अब परामर्श गरेर मात्रै निर्णय लिने बताएको कोइराला निकट स्रोतले परेवान्युजलाइ जानकारी दियो । ‘अहिलेसम्मको कुरामा जे भयो, अब चित्त नदुखाउनुहोस्’ देउवाले कोइरालालाई भनेका छन्- ‘अब सल्लाह गरेरै काम गरौँला ।’

यता कोइराला समूहका केही नेताले भने सभापतिसँग झुक्न नहुने भन्दै कोइरालासहित महामन्त्री गगन थापालाई दबाब दिने गरेको बुझिएको छ ।

सभापति देउवाले स्थानीय निर्वाचनमा टिकट वितरण, पार्टीको सदस्य मनोनयन, भ्रातृ संस्थाको नेतृत्व चयनलगायत विषयमा एकलौटी गरेको भन्दै कोइराला पक्षका नेताहरुले आवश्यक परे सभापतिविरुद्ध विद्रोह गर्न समेत भनेका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय