इमान र निष्ठाको राजनीतिमा रमाएका दिवाकर
प्रतिक भट्टनेपाली राजनीतिमा केही यस्ता पात्र पनि रहेछन् जसले जीवनभर पार्टी बनाउन र पार्टीको विचार बचाउन आफ्नो उर्जाशील समय खर्च गरे । सत्य विचार, सही दृष्टिकोण र दुरदर्शी भिजनले मात्रै पार्टी र सङ्गठन बलियो हुन्छ भन्ने मान्यता बोकेर हिँड्ने एकजना पात्र हामीले भेट्यौं ।
आफ्नो जीवनको ४० वर्ष नेपाली काँग्रेसको आदर्श र विचारमा अडिग रहेका ती व्यक्ति हुन दिवाकर न्यौपाने । उनी देख्दा जति सरल र सहज देखिन्छन् त्यो भन्दा बढी पार्टीको विचारक पनि रहेछन् ।
नेपाली काँग्रेस पार्टीले अवलम्बन गरेका कतिपय जनमुखी र कार्यकर्तामुखी कामको सुरुवातकर्ता भनौं वा विचारक उनै दिवाकर रहेछन् । तर, उनले कहिले पनि यो काम मैले सुरु गरेको वा मेरो कारण सफल भएको र कार्यान्वयन भएको भनेर घमण्ड गरेका छैनन् । उनलाई नेपाली काँग्रेस पार्टीभित्र जतिले चिनेका छन् त्यतिमै उनी सन्तुष्ट छन् ।
उनी आजको दिनमा पनि राजनीति, समाजसेवा र युवा जगतलाई जोड्नुपर्छ भन्ने मान्यता बोकेर हिँडिरहेका छन् । उनको अर्को कुरामा पनि दिमाग घुम्ने गरेको छ । उनी भन्छन्-“समावेशी हुनुपर्छ भनेर जाति, धर्म, लिंग, क्षेत्रको कुरा गर्ने र सधैं एउटै व्यक्ति वा समुदायले मात्रै अवसर लिने वा माग्ने प्रवृत्ति पनि घातक हुनसक्छ’ । ‘नेपालमा रहेका सबै जाति, धर्म र लिंगका व्यक्तिले पार्टीमा वा राज्यको कुनैपनि तहमा अवसर पाउनुपर्छ तर, एउटै व्यक्तिले पटक-पटक पाउनु राम्रो होइन, लोकतन्त्रमा सबै फुल फुल्न पाउनुपर्छ’, उनी थप्छन् ।
नेपाली काँग्रेस काठमाडौका पूर्व जिल्ला सदस्य रहेका दिवाकर न्यौपाने पार्टीभित्र ईमानदार, कर्मनिष्ठ र विचारक मानिन्छन । उनले २०४० सालदेखी २०६६ सालसम्म देशकै नाम चलेको सिद्धार्थ वनस्थली स्कुलमा सेवा गरे । हालका काँग्रेसका नेताहरू गगन थापा र प्रदीप पौडेल सोही स्कुलका विद्यार्थी हुन् । तर, उनले कहिले पनि पार्टीमा आफुलाइ अवसर दिनुपर्यो भनेर भनेनन् । बरु पार्टी नेतृत्वमा आफू रहे पनि वा नरहेपनी पार्टीलाई मजबुत बनाउन सधैं लागिरहे ।
उनी अहिले पनि नेताले भन्दा जनताले प्रत्यक्ष लाभ पाउने खालका काममा नेपाली काँग्रेसका साथीहरूले ध्यान दिनुपर्ने बताउँछन् । उनी आजको दिनमा पनि पार्टीका संस्थापक नेताका विचार छापिएको पुस्तक अध्ययन गर्ने, पार्टी विधान, घोषणापत्र, भिजन अध्ययन गर्ने काममा व्यस्त हुन्छन् । सायद यही कारण उनलाइ पार्टीका धेरैजसो निति, नियम, विधान र दृष्टिकोण बारे ज्ञान छ ।
२०३६ सालमा राजनीति सुरु गरेका दिवाकर २०४३ सालमा नेपाली काँग्रेसले स्थानीय चुनावमा भाग लिएको बेला चुनाव प्रचार समितिको सचिव थिए । २०४६ को आन्दोलनमा पार्टीको तर्फबाट मुख्य भुमिका खेलेका उनलाइ पार्टीको इकाईको कार्यवाहक अध्यक्ष हुन पनि पाँच तह पार गर्नुपर्यो । उनलाई पार्टीभित्रै कहिले सचिवबाट सह-सचिव बनाएर घटुवा गरियो त कहिले इकाइमै निर्वाचन गरेर षडयन्त्रपूर्वक हराउने काम भयो । तर, उनी पार्टीको इमानदार सिपाही जस्तो भएर सधैं पार्टी काममा खटिरहे ।
काठमाडौं विश्वविद्यालयमा नेविसंघको संगठन नै नभएको बेला आफ्नै छोरो सहज न्यौपानेलाई विश्वविद्यालयको अध्यक्ष बनाएर पनि नेविसंघ बिस्तार गरेको उनलाई याद छ । सो कुरा हालका पार्टी महामन्त्री गगन थापा र नेता प्रदीप पौडेललाई समेत जानकारी छ । उनीहरुकै जोडले उनले छोरालाई नेपाल विद्यार्थीको राजनीतिमा प्रवेश गराएका थिए ।
आजभोलि दिवाकरलाई कतै पार्टीमा शक्तिको पछाडि हिँड्नेहरु हावी हुन थालेको हो कि जस्तो पनि लागेको छ । त्यसले गर्दा जनताको माझमा भिजेका इमानदार नेता कार्यकर्ता पछाडि पर्ने गरेको त होइन ? भन्ने प्रश्न कहिलेकाँही उठ्ने गरेको उनी सुनाउँछन् ।
दिवाकरले बागमती सरसफाइ अभियानमा लागेर सामाजिक कार्यमा पनि आफुलाइ उत्तिकै सक्रिय बनाए । त्यसैगरी पार्टीको हितमा ‘जनतासँग सभासद्’ कार्यक्रम,
‘एक घर,एक रुख’ कार्यक्रम को भिजन पनि उनैले ल्याएका हुन् । जनतासँग काँग्रेसलाई चिनाउने कार्यक्रम बनाउनुपर्छ भनेर नै उनले यस्ता कार्यक्रम बनाएर पार्टीको माथिल्लो निकायमा छलफल समेत गराएका छन् ।
काँग्रेसको विधानमा भएका त्रुटि पनि औंल्याएर पार्टी नेतासमक्ष दह्रो कुरा राख्ने दिवाकरले जनघनत्व अनुसार प्रतिनिधि छनोट विधि बनाउनुपर्छ भन्ने कुरा पार्टीमा लागू समेत गराए । जनतासङ्ग नजोडिएको र जनताको दु:खमा साथ नदिएको व्यक्तिले चुनाव लडेर पनि जित्न नसक्ने तर्क गर्ने दिवाकर एकपटक पार्टीले अवसर दिए आफुले काम गरेर देखाउने बताउँछन ।
आफ्नै कार्यकर्तासँग समेत भेट्न नखोज्नेदे जनताको मत र मन कसरी जित्छ ? भन्दै उनी भन्छन्-‘म जनता र काँग्रेसको कार्यकर्ता भन्दा बाहिर छैन, त्यसैले मैले पनि अवसर पाएमा देश र जनताको हितमा काम गर्न सक्छु ।’
आफूसँग भेट्ने नेताहरूले ‘दिवाकरजी तपाईं नेता भन्दा बढी भिजन भएको व्यक्ति र सकारात्मक सोच भएको व्यक्ति हो, काङ्ग्रेस बलियो बनाउन तपाईं जस्तैको खाँचो छ’ भन्ने गरेको पनि उनी सम्झन्छन् । उनी भन्छन्- ‘त्यसैले पनि मंसिर-४ मा हुने निर्वाचनमा मलाई पार्टीले योग्य ठानेर प्रदेशको टिकट दिने र जनतासँग जोडिएर काम गर्ने अवसर दिन्छ भन्नेमा विश्वस्त छु’ ।