काँग्रेसमा टसल बढ्दै, देउवाविरुद्ध शेखर पक्षले विरोधसभा गर्ने

काठमाडौं, ३१ साउन । नेपाली काँग्रेसमा संस्थापन पक्ष र नेता डा.शेखर कोइराला पक्षबीच टसल झन् बढ्दै गएको छ । अब संस्थापन विरुद्ध कोइराला पक्षले विरोध सभा समेत गर्ने भएको छ ।

संस्थापन पक्षले पार्टी र सरकारमा एकलौटी गरेको भन्दै भदौ १ गते कोइराला पक्षले खबरदारी सभा गर्न लागेको स्रोतको दाबी छ । दुवै पक्ष आक्रामक बन्दै जाँदा पार्टी फुटसम्म पुग्‍न सक्ने अनुमान गरिएपनि अहिले पार्टी फुटाउने पक्षमा कोही नभएको एक नेताले बताए ।

पछिल्लो समय भ्रातृ संस्थाको अध्यक्षमा पार्टी सभापति शेरबहादुर देउवाले एकलौटी गरेको विरोधमा खबरदारी सभा गर्न लागिएको नेपाली काँग्रेस निकट तरुण दलका एक केन्द्रिय सदस्यले जानकारी दिए ।

पार्टी र भ्रातृ संस्थाको मनोनित गर्ने पदमा संस्थापन पक्षले एकलौटी गर्दै गएको विरोधमा सभा गर्न लागेको उनले बताए । नेपाली काँग्रेसको भ्रातृसंगठनमा शेखर कोइराला निकट रहेकाहरुले संयुक्त रुपमा विरोध सभा गर्न लागेका हुन् ।

शेखर पक्षीय नेपाल विद्यार्थी संघ, तरुण दल र महिला संघले विरोध सभाको तयारी गरेका छन् । सभामा कोइराला समूहका पार्टी नेता र भ्रातृसंगठनका नेताले सम्बोधन गर्ने छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय