एमालेको बहुमत रोक्न गठबन्धन: ओली

काठमाडौं, २८ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर ४ पछि एमालेले सरकारको नेतृत्व गर्ने दाबी गरेका छन् । उनले एमालेको बहुमत आउन नदिन गठबन्धन गरेर रोक्ने प्रयास भएको तर त्यो सफल नहुने बताए ।
पुर्वप्रधानमन्त्री समेत रहेका ओलीले सत्तारुढ गठबन्धनले जति प्रयास गरेपनि नेपाली जनता एमालेलाई आगामी निर्वाचनमा बहुमत दिन दृढ रहेको पनि दोहोर्याए ।
लोकतान्त्रिक शेर्पा संघ, नेपालको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले एमालेको नीति र संगठनमा आबद्ध भएर मात्रै मुलुकलाई समृद्ध बनाउन सकिन्छ भन्ने कुरामा आम जनता दृढ रहेको भन्दै जतिले गठबन्धन गरेपनी सफल नहुने तर्क गरे ।
‘एमाले हराउन पाँच दलीय गठबन्धनले समेत नपुगेर त्यसलाई विस्तार गर्न खोजिदैछ’, ओलीले भने- ‘यति साह्रो गठबन्धन किन बनाउन पर्यो ? आफ्नो-आफ्नो चुनाव चिन्ह लिएर एक्लै लड्दा एमालेले पछार्छ भनेर बिचराहरु थर्कमान छन् ।’
यो गठबन्धन, सठबन्धन सबै एमालेलाई बहुमतबाट रोक्नका लागि हो भन्दै अध्यक्ष ओलीले ‘एमालेलाई बहुमत ल्याउनबाट रोक्नका लागि यत्रो रुवाबासी किन चाहियो ?’ भन्ने प्रश्न गरे ।
‘देशको मुहार फेर्नका लागि, समृद्ध नेपाल सुःखी नेपाली बनाउनका लागि नेकपा एमालेलाई जिताउनु छ’, उनले भने- ‘किसान, मजदुर, व्यापारी, उद्यमी, सेना, प्रहरी सबैको भावना नेकपा एमाले विजयी हुनुपर्दछ भन्ने नै छ ।’

