काङ्ग्रेसको शेखर समुहको बैठकमा शेखर र गगन दुवै अनुपस्थित

काठमाडौं, २८ साउन । पार्टी सभापति शेरबहादुर देउवाले पेलेरै जान खोजेको भन्दै काङ्ग्रेस भित्रको शेखर कोइराला समूहले छुट्टै गुटगत बैठक गरेको छ ।

काठमाडौंको बत्तीसपुतलीमा रहेको अनुपम फुडल्याण्डमा बसेको बैठकमा शेखर कोइराला र उनकै समुहमा रहेका महामन्त्री गगन थापा भने अनुपस्थित रहेका छन् ।

कोइराला स्वास्थलाभ गरिरहेका छन् भने महामन्त्री थापा व्यस्त भएर नगएको बुझिएको छ । यद्यपि महामन्त्री थापालाई गुटको भेला र बैठकमा नजान सभापति देउवाले यसअघि नै सचेत गराएका थिए ।

प्रधानमन्त्री समेत रहेका पार्टी सभापति देउवाले भातृ संस्था गठनमा एकलौटी मनोनयन गरेको भन्दै छलफल गर्न शेखर समूहले यो भेला राखेको र यसले मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको टिकट वितरणमा पनि संस्थापनको एकलौटी नहोस् भन्ने दबाब दिन खोजेको बुझिएको छ ।

आफ्नै गुटको बैठकमा कोइराला, गगन थापा, अर्जुननरसिंह केसी लगायतका नेताहरू उपस्थित भएका छैनन् । तर, बैठकमा युवा नेता गुरुराज घिमिरे, केन्द्रीय सदस्य प्रकाश रसाइली, नुवाकोट कांग्रेसका पूर्व सभापति जगदिशनरसिंह केसी लगायतका दुई दर्जन नेताकार्यकर्ताहरू सहभागी रहेको स्रोतको दाबी छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय