निहारिकालाई भेटेपछि बालेनले भने- यो अति हो, अत्याचार हो !
काठमाडौं, २८ साउन । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले बलात्कार पीडित निहारिका राजपुतलाई भेटेका छन् । शनिबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज बालेनले निहारिकालाई भेटेका हुन् ।
भेटपछि मेयर शाहले सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गर्दै निहारिकाले आफ्नो बच्चाको डिएनए टेष्ट गर्न माग गर्दा पनि सरकारले पूरा नगरेको भन्दै सरकारमाथि प्रश्न उठाएका छन् ।
‘आफ्नो बच्चाको डिएनए टेस्ट गरिदे मात्रै त भनेको रैछ । यति गर्न एउटी आमाले जल्न तयार हुनुपर्ने ?,’ उनले भने, ‘यो अत्ति हो। यो अत्याचार हो । कानुनी राज्य यस्तो हुँदैन। अभिभावक भनिने राज्य यस्तो हुनुहुँदैन।’
शुक्रबार निहारिकाले राष्ट्रपति भवन शितलनिवासको अगाडि आफूमाथि पेट्रोल छर्केर आत्मदाहको प्रयास समेत गरेकी थिइन् । प्रहरीले उनलाई रोकेर उद्दार गरी अस्पताल पुर्याएको थियो ।
आफू १७ वर्षको हुँदा जनकपुरका शिवराज श्रेष्ठले बलात्कार गरेको भन्दै उनी न्यायका निम्ति अनसन पनि बस्दै आएकी छन् ।