अफगानिस्तानले आयरल्यान्डलाई हरायो, श्रृ्ंखला जीवितै
काठमाडौं, २८ साउन । आयरल्यान्ड भ्रमणमा रहेको अफगानिस्तान क्रिकेट टोलीले टी-२० श्रृंखलाअन्तर्गत तेस्रो खेलमा जीत हासिल गरेको छ । अफगानिस्तानले आयरल्यान्डलाई २२ रनले हराएको हो ।
१९० रनको लक्ष्य पछ्याएको आयरल्यान्डले पूरा २० ओभर खेल्दै ९ विकेट गुमाएर १६७ रन मात्र बनाउन सक्यो । जर्ज डकरेल ५८ रनमा अविजित रहेपनि टोलीलाई जीत दिलाउन सकेनन् । त्यसैगरी फियोन हान्डले ३६ रन बनाए ।
अफगानिस्तानका नवीन उल हकले ३ विकेट लिँदा फजलहक फरुखी र मूजीब उर रहमानले २-२ विकेट लिए भने मोहम्मद नाबीले १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १८९ रन बनाएको थियो । नजिबुल्लाह जाद्रानले १८ बलमा ४२ रनको विस्फोटक पारी खेल्दै फिनिसिङ गरेका थिए । उनले पाँच छक्का प्रहार गरेका थिए ।
रहमनुल्लाह गुर्बाजले ५३ रन बनाए । आयरल्यान्डका जोसुआ लिटिलले २ विकेट लिँदा मार्क अडेयर र फियोन हान्डले १-१ विकेट लिए ।
योसँगै पाँच खेलको श्रृंखला २-१ को अवस्थामा पुगेको छ र अफगानिस्तानले श्रृंखला जीतको आशा जीवितै राखेको छ ।