सिट बाँडफाँडमा मोटामोटी सहमति; काँग्रेसले ९०, अन्यलाई ७५
काठमाडौं, २८ साउन । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सत्ता गठबन्धनमा रहेका दलहरूबीच सिट बाँडफाँडमा मोटामोटी सहमति भएको बुझिएको छ ।
गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली काङ्ग्रेसले ९९ सिटमा आफ्नो दाबी रहेको बताउँदै आएपनि अब ९० सिट लिएर गठबन्धनका अन्य दललाई समेत चित्त बुझाउने भएको छ । यद्यपि काङ्ग्रेसले यस विषयमा आफ्नो कार्यदल र पदाधिकारी बैठकमा निर्णय गराएको छैन ।
सत्ताको नेतृत्व समेत गरिरहेको काङ्ग्रेसले ९० सिट लिएपछि प्रतिनिधि सभाको बाँकी ७५ सिटमा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, जनमोर्चा र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले बाँडफाँड गर्ने बुझिएको छ ।
यसमा पनि दलहरूको अडान बढी छ । प्रतिनिधि सभाको १६५ सिट बाडफाडमा गठबन्धन बिच दावी प्रस्तुत गर्दा झन्डै २११ सिटमा दाबी गरेको देखियो ।
काँग्रेसपछि माओवादीले कम्तिमा ४६ सिट चाहिने भन्दै आएको छ । यसैगरी नेकपा एसले ४० सिट, जसपाले २५ सिट, जनमोर्चाले २ र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादीले ७ सिटमा दाबी गरेको बुझिएको छ ।
काँग्रेसले पार्टीभित्र निर्णय गरेरै ९० सिटमा चित्त बुझाउन सकेमा अन्य दलले भोलिसम्म ७५ सिटको बाँडफाँड गर्ने बुझिएको छ । जसमा माओवादी ४०,नेकपा एस १९, जसपा १२, नेपाल समाजवादी ३ र जनमोर्चा १ सिटमा खुम्चिने छन् ।