युएईमाथि अमेरिकाको रोमाञ्चक जीत
काठमाडौं, २७ साउन । आइसिसी विश्वकप लिग २ अन्तर्गत भइरहेको अमेरिका, स्कटल्यान्ड र युएईबीचको त्रिकोणात्मक श्रृंखलाको आफ्नो पहिलो खेलमा अमेरिकाले रोमाञ्चक जीत निकालेको छ । अमेरिकाले युएईलाई १ विकेटले हराएको हो ।
२५४ रनको विजयी लक्ष्य अमेरिकाले ५ बल बाँकी छँदा ९ विकेटको क्षतिमा भेट्टायो । अमेरिकाको जीतमा कप्तान मोनान्क पटेलले ८५ रन बनाए भने आरोन जोन्सले ५१ रन बनाए । गजानन्द सिंह २४ रनमा अविजित रहे ।
गजानन्दले विजयी चौका प्रहार गरेका थिए । युएईका जुनैद सिद्दिकी र रोहन मुस्तफाले २-२ विकेट लिए भने जाहूर खान, अहमद राजा र बासिल हामिदले १-१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २५३ रन बनाएको थियो । अर्यान लकराले ८४ तथा वृत्या अरविन्दले ५३ रन बनाएका थिए ।
अमेरिकाका सौरभ नेत्रभल्करले ३ तथा इयान हल्यान्ड, स्टेभेन टेलर र क्यामरन स्टेभभेनसनले १-१ विकेट लिए ।