गुटभन्दा क्षमतामा विश्वास गर्ने नातिकाजी
नेपालको राजनीतिमा सबैजसो राजनीतिक पार्टीभित्र गुट, उपगुट र नेताका समूह रहेका छन् । लामो प्रजातान्त्रिक इतिहास बोकेको नेपाली काङ्ग्रेस होस् वा कम्युनिस्ट विचार बोकेको एमाले, माओवादी, समाजवादी र मधेशी दलभित्र कुनै न कुनै गुट-उपगुट झाङ्गिएकै छ । गुटकै कारण एकाध व्यक्तिले क्षणिक अवसर प्राप्त गरेपनि गुटभन्दा क्षमताको आधारमा पाएको पद र प्रतिष्ठा दिगो हुन्छ ।
कहिलेकाँही आफुले भनेजस्तो नहुँदा पार्टीभित्रको गुट वा नेताको समुह छोड्नेदेखि मौका परे पार्टी नै छाडेर हिँड्ने प्रवृत्ति पनि छ । तर, गुटगत राजनीति भन्दा आफ्नै क्षमताको आधारमा राजनीतिक कर्म गरेर अगाडि बढ्न चाहने व्यक्ति पनि छन् । यस्तै गुट उपगुटको आशीर्वाद भन्दा पार्टीको काममा इमानदार भएर लाग्नेमध्येका एक हुन नातिकाजी कार्की । सानै उमेरदेखि हजुरबुबाको हात समातेर नेपालको प्रजातान्त्रिक आन्दोलनमा लागेका कार्की २०४६ सालको आन्दोलनमा बहुदलको पक्षमा लागेर राजनीतिक यात्रा अगाडि बढाएका युवा हुन् ।
खासगरी पञ्चायत विरोधी आन्दोलनमा सानैदेखि लागेका कार्किले ०४६ सालदेखि खुलेर नेपाली काङ्ग्रेसको राजनीतिमा अगाडि बढेको बताए । उनी २०४३ सालदेखि काठमाडौं बसेर अध्यन पनि विध्यार्थी आन्दोलनमा थिए । २०६२/०६३ को आन्दोलनमा त नातिकाजी कार्की आन्दोलनको अग्रमोर्चामा खटेका थिए । प्रहरीको अश्रुग्याँस खाएको देखि आन्दोलनमा भएका दमनको उनी साक्षी हुन् । नेपाली काङ्ग्रेस पार्टीमा प्रतिबद्ध रहेकै कारण हाल नेपाली काङ्ग्रेस बागमती प्रदेश सदस्यमा निर्वाचित भएका कार्की काठमाडौं-६ पाटीटारका स्थायी बासिन्दा हुन् ।
कार्की भन्छन्-“कसैले अपमान गर्न खोजे पनि मैले आफ्नो कर्म, धर्म र जिम्मेवारी छोडिन ।’ पार्टीभित्र माया गर्ने अग्रज र समकक्षी साथीहरूकै साथ र समर्थनको कारण पार्टीको वडा इकाई सदस्य हुँदै अरुणिमा बुथ सभापति र हाल बागमती प्रदेशको निर्वाचित सदस्य भएको उनको भनाइ छ ।
राजनीतिमा धैर्यता अनि इमानदारीता र नैतिकता ठूलो कुरा हो भन्ने मान्यता राख्ने कार्की पार्टीभित्र कुनै अर्कोले अवसर पाउँदा दुखी हुने र आफुले पाए मात्रै खुशी हुन नहुने बताउँछन् । ‘मैले अवसर पाए साथीहरूले सघाउन पर्यो, अरु साथीहरूले पाए म सघाउँछु’, उनले भने- ‘अब यो पटक मैले अवसर पाउछु र साथीहरूले सघाउनुहुन्छ भन्नेमा आशावादी छु ।’ आगामी मंंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा आफू प्रदेशसभा सदस्यमा उम्मेदवार बनेर जनताको सेवा गर्ने अवस्थामा रहेको उनले सुनाए ।
काठमाडौं बसेर राजनीतिसँगै व्यवसाय पनि गर्छन् उनी । रेस्टुरेन्ट व्यवसायबाट व्यवसायिक यात्रा सुरु गरेका कार्की हाल निर्माण व्यवसायमा आबद्ध छन् । राजनीतिलाई कमाउ धन्दा भन्दा पनि समाजसेवाको रूपमा हेरेको बताउने कार्की राजनीति गर्नेले व्यवसाय पनि गरे मात्रै राजनीतिमा कमाउन भन्दा समाजसेवा र जनसेवा गर्न सक्ने तर्क गर्दछन । चुनावको टिकटको लागि पनि पार्टी भित्र गुट उपगुटमा लागेकोलाई भन्दा कामको आधारमा अवसर दिनुपर्ने उनी बताउँछन ।
कार्की आफुलाइ राजनीतिक परिवारको सदस्य भएकोमा पनि गर्व गर्छन् । उनका बुबा गणेशबहादुर कार्की इमान्दार काङ्ग्रेस सदस्य थिए । पञ्चायतले उनको बुबालाई राजनीतिमा लागेकै कारण जेलमा राखेको र पछि कृष्णप्रसाद भट्टराईले राजनीतिक पीडितको रुपमा सम्मान समेत दिएको नातिकाजी बताउँछन् ।