वेस्टइन्डिजको हारको श्रृंखला रोकिएन, न्युजिल्यान्डसँग पराजित

काठमाडौं, २६ साउन । वेस्टइन्डिज भ्रमणमा रहेको न्युजिल्यान्ड क्रिकेट टोलीले टी-२० श्रृंखलाअन्तर्गत पहिलो खेलमा घरेलु टोलीमाथि जीत निकालेको छ । न्युजिल्यान्डले वेस्टइन्डिजलाई १३ रनले हराएको हो ।

१ सय ८६ रनको विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिजले पूरा २० ओभर खेल्दै ३ विकेटको क्षतिमा १७२ रन मात्र बनाउन सक्यो । शामरा ब्रुक्सले सर्वाधिक ४५ रन बनाए भने ओडियन स्मिथ २७ रनमा अविजित रहे ।

न्युजिल्यान्डका मिचेल सान्टनरले ३ विकेट लिँदा ट्रेन्ट बोल्ट, टिम साउथी, लकी फर्गुसन र इश सोधीले १-१ विकेट हात पारे ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८५ रन बनाएको थियो । टोलीमा लामो समयपछि फर्किएका कप्तान केल विलियमसनले सर्वाधिक ४७ रन बनाएका थिए ।

त्यसैगरी डेभोन कन्वेले ४३ रन बनाउँदा जिमी नीशम ३३ रनमा अविजित रहे । वेस्टइन्डिजका ओडियन स्मिथले ३ विकेट लिँदा जेसन होल्डर र ओबेड मेकोएले १-१ विकेट हात पारे ।

योसँगै तीन खेलको श्रृंखलामा न्युजिल्यान्डले १-० को अग्रता लिएको छ । दोस्रो टी-२० खेल शुक्रबार हुनेछ ।

वेस्टइन्डिज भर्खर मात्र भारतसँग टी-२० श्रृंखलामा ४-१ ले पराजित भएको थियो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय