विद्युत प्राधिकरणको नाफा १६ अर्ब

काठमाडौं, २६ साउन । नेपाल विद्युत प्राधिकरणको वार्षिक नाफा १६ अर्ब भन्दा बढी हुने देखिएको छ । गत आर्थिक बर्षको तुलनामा प्राधिकरणले झन्डै १६४ प्रतिशतले नाफा वृद्धि गरेको देखिन्छ ।

गएको आर्थिक वर्ष २०७७/०७८ मा प्राधिकरणको कुल ६ अर्ब १० करोड खुद नाफा देखिएकोमा आर्थिक २०७८/०७९ मा १६ अर्ब ९ करोड रूपैयाँ हुनसक्ने देखिएको छ ।

प्राधिकरणको आव २०७८/०७९को वार्षिक आम्दानी झन्डै एक खर्ब रुपैयाँ नाघेको हुनसक्ने अनुमान छ ।

यो सँगै सार्वजनिक संस्थाहरूमध्ये सबैभन्दा बढी आम्दानी भएको र नाफा आर्जन गर्ने संस्था प्राधिकरण बनेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

आर्थिक वर्ष २०७२/०७३ मा ८ अर्ब ८९ करोड रुपैयाँ घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षहरूमा निरन्तर नाफामा छ । विद्युत आपूर्ति भरपर्दो र गुणस्तरीय हुँदै गएपछि यसको प्रत्यक्ष सकारात्मक प्रभाव प्राधिकरणको वित्तीय अवस्थामा परेको घिसिङले बताए । प्राधिकरणले विद्युत बिक्रीबाट ८८ अर्ब रुपैयाँ आम्दानी गरेको देखिएको छ।

यसैगरी विद्युत चुहावट नियन्त्रण गर्न सञ्चालन गरिएका अभियानबाट विद्युत् चुहावट १५.३८ प्रतिशतमा झरेको पनि प्राधिकरणको भनाइ छ । प्राधिकरणका अनुसार हाल विद्युत प्रयोग गर्ने ग्राहकको संख्या सामुदायिक सहित ५३ लाख पुगेको छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय