राजनीति र समाजसेवामा मनकारी राजन

प्रतिक भट्ट

नेपाली राजनीतिमा आजभोलि कुनैपनि दल वा नेताको विषयमा चासो भन्दा गुनासो बढी हुने गरेको छ । कतिपय राजनीतिक दलमा आबद्ध केही नेताले आफू र आफ्नो परिवार अनि नातागोताको मात्रै स्वार्थ हेर्ने र अवसर दिने गरेको गुनासो पनि धेरै सुनिन्छ । कतिपय राजनीतिक दल वा तिनका नेताले जनताको समस्या र पीडामा वास्ता नगर्ने भएका कारण पनि राजनीतिमा जनताको चासो कम र गुनासो बढी सुनिने गरेको हो ।

राजनीतिक दल र नेतामा देखीएको गुनासोकै कारण कतिपय सन्दर्भमा स्वतन्त्र व्यक्ति हावी हुने गरेको पनि छ । तर, लोकतन्त्रमा दलहरुबीचकै प्रतिस्पर्धा आवश्यक हुने भएकोले जनताको गुनासोलाई नेताले चासो दिएर सुन्‍ने गर्नुपर्दछ । नेपाली राजनीतिमा आफू कुनै जिम्मेवार पदमा नरहेर पनि जनताको सानो-सानो गुनासो सुनिदिने असल व्यक्ति पनि छन् जसले राजनीतिसँगै समाजसेवाको रुपमा जनताको गुनासो सुनेर हुनेसम्म काम गरिदिने वा सुझाव सल्लाह दिने गर्दछ्न ।

-राजन पोख्रेल

यस्तै जनगुनासो सुन्‍नेमध्येका एक हुन् असल, भद्र, इमान्दार र कर्मयोगी राजनीतिज्ञ एवं समाजसेवी र व्यवसायी राजन पोख्रेल । उनलाई नजिकबाट चिन्नेहरु भन्छन्- ‘राजन पोख्रेल असल, भद्र र शालीन व्यक्तित्वसँगै मनकारी पनि छन् ।” सायद त्यसैले होला राजनले जोसुकैलाई परेको गाह्रो, अफ्ठ्यारो आफ्नै जस्तो ठानेर समाधान गरिदिन्छन् ।

नेपाली काङ्ग्रेसको राजनीतिमा लामो समयदेखि सक्रिय काठमाडौं-६ बौद्ध निवासी राजन पोखरेल लायन्स क्लबलगायत विभिन्‍न समाजसेवाको क्षेत्र तथा उत्पादनमुखी व्यवसाय र बैंकिङ क्षेत्रमा समेत संलग्‍न छन् । उनी निमुखा र राज्यको कुनैपनि निकायमा पहुँच नभएका कारण राज्यको निकायबाट नियमले पाउनुपर्ने सेवा समेत लिन नसकेकालाई आफैं अगाडि सरेर हुनसक्ने सम्मको साथ र समर्थन गर्दछन् ।

कुनै व्यक्तिको वडा, नगरपालिका वा मन्त्रालयसम्म पहुँच नभएको कारण काम रोकिएको छ भने राजनले त्यसमा सहजीकरण गरिदिन्छन । त्यसैले पनि उनलाइ आफ्नो भन्दा अरुको चिन्ता बढी हुने गरेको छ । ‘हो मलाई कुनैपनि नागरिकले सेवा लिन नसकेको वा नपाएको कुराले मन पिरोलिन्छ’, राजन भन्छन्- ‘कसैले कुनै काममा दु:ख दियो वा अनावश्यक दबाब र प्रभाव पार्न खोज्यो भने म सहन्‍न ।’

नेपाली काङ्ग्रेस निकट नेपाल ट्रेड युनियन काङ्ग्रेसको संगठन विभागको केन्द्रीय उप-प्रमुख रहेका पोखरेल हाल नेपाली काङ्ग्रेस क्षेत्रीय प्रतिनिधि पनि हुन् । पोख्रेलको अहिले पनि व्यवसायको रुपमा बुद्धशान्ति-७ झापामा चिया उद्योग छ । पुर्वी नेपालको पहाडी जिल्ला खोटाङमा जन्मेर सुनसरीलाई कार्यक्षेत्र बनाउदै काठमाडौंको स्थायी बासिन्दा हुन आइपुगेका अनि राजनीति र समाजसेवालाई सँगै अगाडि बढाएका पोख्रेल २०६८ देखि ०७० र २०७० देखि ०७२ सम्म विराटनगर जुट मिलको संचालक समितिमा रहेर काम गरे । उनले टिम्बर कर्पोरेसनमा युनिट प्रमुख हुँदै रौतहट जिल्ला क्याम्प प्रमुख र विरगंज, धरान लगायत ठाउँमा डिपो प्रमुख भएर काम गरेको अनुभव पनि छ ।

राजनीति, व्यवसाय, समाजसेवासँगै धर्ममा पनि राजनको ठूलो विश्‍वास र लगाव छ । उनले धर्ममा विश्‍वास राखेकै कारण पनि गरिब, दु:खी र असहायलाई सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्छन् । ‘म कर्म र धर्ममा विश्‍वास गर्ने मानिस हूँ’, पोख्रेल भन्छन्- ‘धर्म छाड्नेहरुले कर्म पनि गर्न सक्दैनन् र समाजसेवा पनि गर्न सक्दैनन् ।’

लायन्स क्लब ३२५ ‘डी’को रिजन चेयरपर्सन रहेका पोख्रेलले लायन्स मार्फत पनि थुप्रै समाजसेवाको काम अगाडि बढाएका छन् । नेपाल जेसिसको क्लब मेम्बर रहिसकेका उनी अहिले मानवअधिकार तथा शान्ति समाज लगायत विभिन्‍न सामाजिक संघ संस्थामा आबद्ध छन् । नेपाली काङ्ग्रेसको राजनीतिमा कुनै पदको अपेक्षा नराखी निस्वार्थ काम गर्दै आएको कारण यसपटक भने पार्टीले न्याय गर्ने अपेक्षा उनको रहेको छ ।

‘पार्टीले सही मुल्यांकन गर्नेमा आशावादी छु’, उनले भने-‘यदि मैले अवसर पाएमा जनताको सेवा गर्ने ठाउँमा पुगेर जनताको माझमा काङ्ग्रेसलाई अझै सशक्त बनाउने छु ।’

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय