जिम्बावेविरुद्ध बङ्गलादेशको सान्त्वना जीत
काठमाडौं, २५ साउन । जिम्बावे भ्रमणमा रहेको बङ्गलादेश क्रिकेट टोलीले एकदिवसीय क्रिकेटको श्रृंखलामा सान्त्वना जीत निकालेको छ । बुधबार भएको अन्तिम खेलमा बङ्गलादेश १०५ रनले विजयी भयो ।
२५७ रनको विजयी लक्ष्य पछ्याएको जिम्बावे ३२.२ ओभरमा १५१ रनमा समेटियो । क्लिभ मडान्डेले सर्वाधिक २४ रन बनाए । लगातार दुई शतक प्रहार गरेका सिकन्दर राजा यस खेलमा भने गोल्डेन डकआउट भएका थिए ।
बङ्गलादेशका मुस्तफिजुर रहमानले ४ विकेट लिँदा तैजुल इस्लाम र इबादोत हुसेनले २-२ तथा हसन महमुद र मेहदी हसन मिराजले १-१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बङ्गलादेशले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २५६ रन बनाएको थियो । अफिफ होसेन ८५ रनमा अविजित रहँदा अनमुल हकले ७६ रन बनाए । जिम्बावेका लुक जोङ्वे र ब्राड्ली इभान्सले २-२ विकेट लिँदा रिचार्ड गाराभा र सिकन्दर राजाले १-१ विकेट लिए ।
तीन खेलको श्रृंखला जिम्बावेले यसअघि नै जितिसकेको थियो ।