राजनीतिमा युवाको नेतृत्व गर्दै कबिर
प्रतिक भट्टनेपाली राजनीतिमा युवाको पालो कहिले आउँछ ? यो प्रश्न प्राय: सबै राजनीतिक दलभित्र उठ्ने गरेको धेरै भयो । नेपाली राजनीतिका नयाँ पुराना सबै दलमा युवालाई मौका देऊ भन्ने आवाज र हामी युवालाई अगाडि बढाउन चाहन्छौं भन्ने दलका नेताको आवाज धेरै सुनियो । तर, आजको दिनसम्म आइपुग्दा पुरानो दल नेपाली काङ्ग्रेस र नयाँ खुलेको दल नेपाल समाजवादी पार्टीको नेतृत्वमा ७० बर्ष हाराहारीका नेताले नेतृत्व गरेका छन् ।
नेकपा मसालका अध्यक्ष मोहनविक्रम सिंह ८८ वर्ष, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्त ठाकुर ७८ वर्ष र नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा ७० वर्ष कटेका छन् । एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेसपा अध्यक्ष डा.बाबुराम भट्टराई ७० वर्षको हाराहारीमा छन् ।
युवालाई नेतृत्व देउ भन्ने आवाज सुनेर होइन तर काङ्ग्रेस क्रियाशिल सदस्यले चुनेका क्षेत्रीय प्रतिनिधिले चाहिँ एक जना ३४ वर्षे युवालाई नेतृत्वमा पुर्याएका छन् । उनी हुन् नेपाली काङ्ग्रेस काठमाडौं क्षेत्र नम्बर-२ का क्षेत्रीय सभापति कबिर शर्मा ।
राजधानी काठमाडौंको त्रिचन्द्र कलेज स्ववियु सदस्यबाट नेपाल विद्यार्थी संघको राजनीति सुरु गरेका कबिरले छोटो समयमा नै नेपाल तरुण दलमा क्रियाशील हुँदै माउ पार्टी नेपाली काङ्ग्रेसको राजनीतिमा फड्को मारे । नेपाली काङ्ग्रेसको देशभरको क्षेत्रीय सभापतिमध्ये उमेरले कान्छो क्षेत्रीय सभापतिमध्ये पर्दछन कबिर । राजनीतिमा युवा नेतृत्व पूरा गर्न मात्रै होइन कबिरले साँच्चै नेपाली राजनीतिको अहिलेको अवस्थालाई नजिकैबाट बुझेका छन् । समाजसेवा र विकासलाई आत्मसात् गर्दै जनताको सुख दु:खमा साथ दिनु असल राजनीति हो भन्ने पनि उनले बुझेका छन् ।
कबिर राजनीतिमा क्रीयाशिल मध्यका अब्बल युवासँगै व्यवसायिक रुपमा राम्रो इन्जिनियरिङ कन्सल्ट्यान्ट पनि हुन् । उनले चमेलिया हाइड्रो, लमजुङको दोर्दी, मेलम्चीमा समेत केही समय इन्जिनियरिङ कन्सल्ट्यान्ट भएर काम गरे । सन २००९ मा सोलुखुम्बुको चौलाखर्क देखि फाप्लु सम्मको बाटोको फिजिबिलिटी स्टडी गरेर आफ्नो कामको सुरुवात गरेका कबिरले सानै उमेरमा त्यसपछि विभिन्न हाइड्रो कम्पनीमा इन्जिनियरीङ कन्सल्ट्यान्ट भएर काम गरेका थिए ।
पढेपछि जागिर वा बिदेश जाने अवस्था भन्दा नेपालको शिक्षा नीतिले युवालाई स्वरोजगार बन्न सिकाउनुपर्ने कबिरको बुझाइ छ । ‘अहिलेको शिक्षा निति नै राम्रो भएन’, कबिर भन्छन्, ‘अहिलेको शिक्षा नीतिले उत्पादन गरेको जनशक्ति जागिर खोज्नेहरु भए जागिर दिनेहरु भएनन् ।’ युवालाइ स्वरोजगार बनाउन नसकेसम्म देशमा रोजगारी सिर्जना हुन नसक्ने र युवा विदेश जाने वा राजनीति खराब भयो भनेर सडकमा निस्कने युवालाई रोजगारसँग जोड्नुपर्ने उनी बताउँछन् ।
अहिलेको राजनीतिमा अर्को समस्या भनेको स्थापित दलमा असल र युवा नेतृत्व आवश्यक छ । अब १०-२० वर्ष कुरेर समृद्धिको योजनामा जान्छु भनेर गफ गरेको भरमा कोही कुरेर बस्दैन भन्ने बुझेका कबिरले युवालाई आकर्षित गर्ने नीति र योजना तत्काल आवश्यक रहेको औंल्याए । ‘डिग्री गरेर पनि युवाले सडकमा आउने अवस्था रोक्नुपर्छ’, कबिर भन्छन्-‘अहिलेको अवस्थामा २० देखि २५ बर्षमा युवालाई रोजगार बनाउन जरुरी छ ।’ युवाहरूलाई व्यवहारिक शिक्षा दिन र स्वरोजगार बनाउन नसक्दा युवाको रिस फेर्ने ठाउँ नेता र राजनीतिक दल बन्न थालेको उनको बुझाइ छ ।
अब नेपाली काङ्ग्रेसको पार्टी राजनीतिसँगै युवाले संसद भवनमा पुगेर जनताको जनजीविकासँग जोडिएका प्रत्यक्ष सरोकार राख्ने विषय आवाज बुलन्द गर्ने बेला आएको कबिरको भनाइ छ । ‘जनताको समस्यालाई सिंहदरबारमा बसेर मात्रै होइन जनताको घरमै पुगेर बुझ्नुपर्छ भन्ने मेरो बुझाइ हो’, कबिर भन्छन्- ‘यदि पार्टीले अगाडी बढ् भन्यो भने म यसैलाई आधार बनाएर अगाडि बढ्ने सोचेको छु ।’ उनले अबको निर्वाचनमा आफूजस्तै युवाको जमात पनि संसदमा पुग्नुपर्ने र जनताको समस्या बुझ्नुपर्ने भन्दै अवसर पाए आफूले बोलेर होइन गरेर देखाउने अठोट व्यक्त गरे ।
पार्टीमा देखिने गुट-उपगुटको कुरामा पनि उनको बुझाइ फरक छ । उनी गुटको आधारमा जिम्मेवारी दिने होइन क्षमताको आधारमा जिम्मेवारी दिनुपर्ने बताउँछन । ‘क्षमता नभएकाहरुले हो गुट-उपगुट बनाउने’, कबिर भन्छन्- ‘तर गुट बनाउनेलाई नेतृत्वले ध्यान दिने होइन जिम्मेवारी दिँङ्दाग क्षमतालाई हेर्नुपर्छ ।’