मतको आधारमा काठमाडौंमा काङ्ग्रेस बलियो
काठमाडौं, २३ साउन । गएको स्थानीय निकाय निर्वाचनबाट राजनीतिक दलहरूले पाएको मत संख्या हेर्ने हो भने सबैभन्दा बलियो शक्ति नेपाली काङ्ग्रेस देखिएको छ ।

पाँच दलीय गठबन्धनसँगै एमाले-राप्रपा गठबन्धन र स्वतन्त्र उम्मेदवारले पाएको मतलाइ राजनीतिक पार्टीको एक्लाएक्लै हिसाब गर्दा काठमाडौंको १० वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये काङ्ग्रेस ७ वटा क्षेत्रमा पहिलो छ ।

निर्वाचन आयोगले निकालेको मत संख्या हेर्दा नेपाली काङ्ग्रेस काठमाडौ क्षेत्र नम्बर १, क्षेत्र नम्बर ३, क्षेत्र नम्बर ६, क्षेत्र नम्बर ७, क्षेत्र नम्बर ८, क्षेत्र नम्बर ९ र क्षेत्र नम्बर १० मा पहिलो भएको छ । अन्य तीन वटा क्षेत्र नम्बर २,४ र ५ मा एमाले बलियो देखिन्छ ।
काठमाडौं-२ एमालेका पूर्व महासचिव; हाल नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालको क्षेत्र र ५ एमाले वरिष्ठ नेता ईश्वर पोखरेलको क्षेत्र हो । तर ,काङ्ग्रेस महामन्त्री गगन थापाको क्षेत्र काठमाडौं-४ मा भने स्थानीय निर्वाचनमा एमालेको मत बढी देखिएको छ ।
काठमाडौंमा नेपाली काङ्ग्रेसपछि एमालेको मत भएपनि त्यसभन्दा पछाडि माओवादी केन्द्र, एकीकृत समाजवादी र राप्रपाको मत छ ।
सत्ता गठबन्धन भित्रको जसपाको मत नगन्य छ भने जनमोर्चाको मतको हिसाबै छैन ।