बङ्गलादेशमाथि जिम्बावेको दोस्रो जीत, सिकन्दरको लगातार दोस्रो शतक

काठमाडौं, २३ साउन । जिम्बावेले पाहुना टोली बङ्गलादेशसँगको एकदिवसीय क्रिकेटको श्रृंखला एक खेलअगावै आफ्नो नाममा गरेको छ । आइतबार भएको दोस्रो खेलमा जिम्बावेले बङ्गलादेशलाई ५ विकेटले हरायो ।

२९१ रनको विजयी लक्ष्य जिम्बावेले १५ बल बाँकी छँदा ५ विकेटको क्षतिमा भेट्टायो । जिम्बावेको जीतमा सिकन्दर राजा र रेगिस चकब्भाले शतकीय पारी खेले । सिकन्दरले लगातार दोस्रो शतक प्रहार गर्ने क्रममा ११७ रनमा अविजित रहे भने चकब्भा १०२ रनमा आउट भए ।

जिम्बावे ४९-४ को अवस्थामा रहेका बेला यी दुई ब्याटरले २०१ रनको साझेदारी गर्दै जिम्बावेको जीतको आधार तय गरे । यसअघि पहिलो खेलमा पनि जिम्बावे कठिन परिस्थितबाट कमब्याक गर्दै ३०० रन माथिको लक्ष्य पनि पूरा गरेको थियो ।

यसअघि सिकन्दर राजाले पहिलो खेलमा पनि अविजित रहँदै १३५ रन बनाएका थिए । बङ्गलादेशका हसन महमुद र मेहदी हसन मिराजले २-२ विकेट लिँदा तैजुल इस्लामले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बङ्गलादेशले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २९० रन बनाएको थियो । महमुदुल्लाह ८० रनमा अविजित रहँदा कप्तान तमिम इकबालले ५० रन बनाए ।

जिम्बावेका सिकन्दर राजाले ३ विकेट लिँदा वेस्ले माधेभेरेले २ तथा भिक्टर न्याउची र टनका चिभङ्गाले १-१ विकेट लिए ।

योसँगै तीन खेलको श्रृंखलामा जिम्बावेले २-० को अग्रता लिएको छ भने श्रृंखला कब्जा गरिसकेको छ । अन्तिम खेल बुधबार हुनेछ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय