काठमाडौं-३ मा काङ्ग्रेसबाट क-कस्को दाबी ?

काठमाडौं, २१ साउन । सरकारले आगामी मंसिर ४ गतेका लागि प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्ने गरी मिति घोषणा गरेसँगै काठमाडौं क्षेत्र नम्बर ३ मा काङ्ग्रेस प्रतिस्पर्धीहरु देखिन थालेका छन् ।

देशभर चुनावी सरगर्मी बढ्दै जाँदा काठमाडौं-३ मा पनि नेपाली काङ्ग्रेसबाट युवादेखि पुराना नेताहरू चुनावी प्रतिस्पर्धामा देखिन थालेका हुन् । उनीहरुले चुनावको तयारी स्वरुप निकटका कार्यकर्ता र समर्थक भेट्नेदेखि टिकट पाउनका लागी पार्टीको माथिल्लो तहमा सम्बन्ध बढाइरहेका छन् ।

काठमाडौं-३ यसअघि नेकपा एमालेका कृष्ण राईले जितेको क्षेत्र हो । २०७४ सालमा बाम गठबन्धन हुँदा यो क्षेत्र काङ्ग्रेसले गुमाएको भएपनि यसपटक फिर्ता ल्याउने तयारीमा काङ्ग्रेस नेताहरू लागेका छन् ।

यो क्षेत्रबाट यसपटक काङ्ग्रेस केन्द्रीय सदस्य अम्बिका बस्‍नेत, काङ्ग्रेस क्षेत्रीय सभापति एवं गोकर्णेश्वर नगरपालिकाका प्रथम मेयर सन्तोष चालिसे, काङ्ग्रेस महासमिति सदस्य युवा नेता हरिबोल भण्डारी, हालका बागमती प्रदेशसभा सांसद छिरिङ दोर्जे लामा, काङ्ग्रेस बागमती प्रदेश सदस्य नानु दाहालले दाबी गर्ने देखिन्छ ।

तर केन्द्रीय सदस्य बस्‍नेत यसअघि पराजित भइसकेका कारण यसपटक उनले समानुपातिकमा जान सक्ने देखिन्छ । त्यसैगरी छिरिङ दोर्जे प्रदेश सभामै पुनः दोहोरिन सक्ने उनका निकटस्त हरु बताउँछन् । युवा नेतृ नानु दाहालको पनि प्रतिनिधिसभा भन्दा प्रदेशसभामा दाबी हुनसक्ने काङ्ग्रेसका युवाहरूको बुझाइ छ । त्यसैले प्रतिनिधिसभामा चालिसे र भण्डारी मध्ये एकले नै टिकट लिन सक्ने अनुमान छ ।

यता प्रदेशसभामा भने हालका सांसद छिरिङ दोर्जे, काङ्ग्रेस नेता तथा लायन्स क्लब र विभिन्‍न सामाजिक कार्यमा काम गर्दै आएका राजन पोखरेल, नानु दाहाल, श्रीराम चालिसे, कुमार सुवेदी, गीता सिंखडा, बिमल ठकुरी, नातिकाजी कार्कीलगायतको दाबी हुन सक्ने देखिन्छ ।

नेपाली काङ्ग्रेसले पार्टीभित्रको एकता कायम राखेर चुनावमा जादा काठमाडौं-३ मा बाजी मार्न सक्ने धेरैको बुझाइ छ ।

बिमल ठकुरी
गीता सिंखडा

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय