सिकन्दर र काइयाको शतकमा बङ्लादेशमाथि जिम्बावेको शानदार जीत
काठमाडौं, २१ साउन । जिम्बावेले पाहुना टोली बङ्गलादेशसँगको एकदिवसीय क्रिकेटको श्रृंखलाअन्तर्गत पहिलो खेलमा शानदार जीत निकालेको छ । जिम्बावेले बङ्गलादेशलाई ५ विकेटले हराएको हो ।
३०४ रनको विजयी लक्ष्य जिम्बावेले १० बल बाँकी छँदा ५ विकेटको क्षतिमा भेट्टायो । जिम्बावेको जीतमा सिकन्दर राजा र इनोसेन्ट काइयाले शतकीय पारी खेले । सिकन्दर १३५ रनमा अविजित रहँदा काइया ११० रनमा आउट भए ।
जिम्बावे ६२-३ को अवस्थामा रहेका बेला यी दुई ब्याटरले १९२ रनको साझेदारी गर्दै जिम्बावेको जीतको आधार तय गरे । बङ्गलादेशका मुस्तफिजुर रहमान, शोरिफुल इस्लाम, मेहदी हसन र मोसद्देक होसेनले १-१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बङ्गलादेशले निर्धारित ५० ओभरमा २ विकेट मात्र गुमाएर ३०३ रन बनाएको थियो । लिटोन दास ८१ रनमा रिटायर्ड भए भने अनमुल हकले ७३ तथा कप्तान तमिम इकबालले ६२ रन बनाउँदा मुस्फिकुर रहिम ५२ रनमा अविजित रहे । जिम्बावेका भिक्टर न्याउची र सिकन्दर राजाले १-१ विकेट लिए ।
योसँगै तीन खेलको श्रृंखलामा जिम्बावेले १-० को अग्रता लिएको छ । दोस्रो खेल आइतबार हुनेछ ।