बङ्गलादेशलाई हराउँदै भारत साफ यू-२० को उपाधि जित्न सफल
फाइनलमा गुरकिरतले गरे चार गोलकाठमाडौं, २० साउन । भारतले २० वर्षमूनिको साफ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ । शुक्रबार भएको फाइनलमा बङ्गलादेशलाई ५-२ गोलअन्तरले हराउँदै घरेलु टोलीसमेत रहेको भारतले उपाधि जितेको हो ।
भारतको जीतमा गुरकिरत सिंह एक्लैले चार गोल गरेका थिए भने हिमांशु झाङ्ग्राले १ गोल गरे । बङ्गलादेशका राजन होल्दार र समिम मियाले १-१ गोल गरे ।
खेलको पहिलो हाफ १-१ तथा दोस्रो हाफ २-२ गोलको बराबरीमा सकिएको थियो । त्यसपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा भारतले थप तीन गोल गर्यो र उपाधि जित्यो ।
यस्तो रह्यो फाइनल खेलः
भारतले खेलको १९औं सेकेन्डमा नै पेनाल्टी पाएको थियो । हिमांशु झांग्राको लामो प्रहारलाई बङ्गलादेशका गोलरक्षक मोहमद आसिफले विफल पारे तर रिबाउन्डमा प्रहार गर्ने क्रममा गुरकिरत सिंहलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले पेनाल्टी दिए । पेनाल्टीमा गुरकिरत आफैंले गोल गर्दै भारतलाई सुरुवाती अग्रता दिलाए ।
पहिलो हाफको अन्तिम मिनेटमा बङ्गलादेशले बराबरी गोल फर्कायो । राजन होल्दारले पेनाल्टी क्षेत्रभित्रबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । दोस्रो हाफको ४८औं मिनेटमा समिमले शानदार गोल गरेपछि खेलमा बङ्गलादेश अगाडि आयो ।
खेलको ६०औं मिनेटमा गुरकिरतले व्यक्तिगत दोस्रो गोल गर्दै भारतलाई पुनः खेलमा फर्काए । उनले पेनाल्टी क्षेत्र बाहिरबाट दर्शनीय गोल गरेका थिए । त्यसपछि थप गोल निस्किएन र निर्धारित ९० मिनेटको खेल २-२ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।
अतिरिक्त समयअन्तर्गत ९१औं मिनेटमा हिमांशु झाङ्ग्राले गोल गर्दै भारतलाई दोस्रोपटक अग्रतामा राखे । त्यसको दुई मिनेटमै गुरकिरतले ह्याट्रिक गोल गर्दै भारतको अग्रता बढाए । ९८औं मिनेटमा गुरकिरतले नै व्यक्तिगत चौथो गोल गर्दै भारतलाई ५-२ को जीत दिलाए ।