वेस्टइन्डिजविरुद्ध भारतको सहज जीत
काठमाडौं, १८ साउन । वेस्टइन्डिज भ्रमणमा रहेको भारतीय क्रिकेट टोलीले टी-२० श्रृंखलाअन्तर्गत तेस्रो खेलमा घरेलु टोलीमाथि सहज जीत निकालेको छ । भारतले वेस्टइन्डिजलाई ७ विकेटले हराएको हो ।
१ सय ६५ रनको विजयी लक्ष्य भारतले १९ ओभरमा केवल ३ विकेटको क्षतिमा भेट्टायो । भारतको जीतमा सूर्यकुमार यादवले ७६ रन बनाए भने रिषभ पन्त ३३ रनमा अविजित रहे ।
श्रेयस अय्यरले २४ रन बनाउँदा रोहित शर्मा ११ रनमा रिटायर्ड हर्ट भए । वेस्टइन्डिजका डोमिनिक ड्रेक्स जेसन होल्डर र अकिल होसेनले १-१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्टइन्डिजले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो ।
उसका लागि काइल मेयर्सले ७३ रन बनाउँदा रोभमन पावेलले २३ रन बनाए । भारतका भुवनेश्वर कुमारले २ विकेट लिँदा हार्दिक पान्ड्या र अर्शदीप सिंले १-१ विकेट हात पारे ।
योसँगै पाँच खेलको श्रृंखला २-१ को अवस्थामा पुगेको छ । चौथो टी-२० खेल शनिबार हुनेछ ।