माल्दिभ्सलाई हराउँदै भारत फाइनलमा, नेपाल बाहिरियो

काठमाडौं, १७ साउन । आयोजक भारत साफ यू-२० फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । मङ्गलबार भएको अन्तिम खेलमा माल्दिभ्सलाई १-० ले हराउँदै भारतले फाइनलको यात्रा तय गरेको हो ।

भारतको जीतमा गुरकीरत सिंहले ९०औं मिनेटमा गरेको एकमात्र गोल नै निर्णायक बन्यो । खेल अवधिभर भारतले गोलका दर्जनबढी गोलको अवसर गुमाएको थियो ।

यस नतिजासँगै नेपाल भने प्रतियोगिताबाट बाहिरिएको छ । यसअघि दिउँसो भएको खेलमा बङ्गलादेशसँग नेपालले १-१ को बराबरी खेलेपछि बङ्गलादेश फाइनलमा पुग्दा नेपालको भाग्य यस खेलमा निर्भर थियो ।

यस खेलमा भारत पराजित भएको खण्डमा नेपाल फाइनल पुग्‍ने थियो भने भारत विजयी वा बराबरी भएको खण्डमा नेपाल बाहिरिने थियो ।

नेपाल भारतसँग ८-० को विशाल अन्तरले पराजित भएको थियो भने माल्दिभ्स र श्रीलंकाविरुद्ध सहज जीत निकालेको थियो ।

अंकतालिकामा बङ्गलादेश ४ खेलमा १० अंकका साथ शीर्षमा रहँदा दोस्रोमा भारतको ९ तथा तेस्रोमा नेपालको ७ अंक रहेको छ ।

शीर्ष दुई टोलीले फाइनल खेल्ने प्रावधान छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय