म्याग्दी पहिरो अपडेटः बेपत्ता तीनको शव भेटियो
राससम्याग्दी, १७ साउन । म्याग्दीको मालिका गाउँपालिका–२, रुमको तामेङ गाउँमा पहिरोमा परी हराइरहेका थप तीन जनाको शव भेटिएको छ ।

मङ्गलबार बिहान करिब ३ बजे बस्तीमाथिबाट खसेको पहिरोले दुई घर बगाएपछि सम्पर्कविहीन भएका एकै परिवारका तीन जनाको शव पुरिएको अवस्थामा भेटिएको वडा सदस्य भक्तबहादुर पुनले जानकारी दिए ।

‘पहिरोबाट शव निकालिएको छ, मृतक सबै एकै परिवारका हुन, बिहान दुई जनाको शव भेटिएको थियो, अहिले तीन जनाको भेटिएको छ”, वडा सदस्य पुनले भने । खोज तथा उद्धारमा बिहानैदेखि खटिए पनि भीषण बर्षा र निरन्तरको पहिरोले उद्धारमा समस्या भएको थियो ।
पहिरोमा पुरिएको अवस्थामा बिहान नवीन र रुजन विकको शव निकालिएको थियो भने घामबहादुर विक,राजु विक र रोजी विकको शवसमेत निकालेर कानुनी प्रक्रियाको काम भइरहेको छ ।
बेपत्ता भएका उनीहरुको खोजीका लागि इलाका प्रहरी कार्यालयबाट प्रहरी टोलीसहित स्थानीयवासी घटनास्थल पुगेका थिए । बस्तीमाथिबाट पहिरो खसेको आवाज आएपछि भाग्दाभाग्दै गोठे र गोरी विक घाइते भएका थिए ।
पहिरोस्थलबाटै गोरीको उद्धार गरिएको थियो भने गोठे नजिकै घाइते अवस्थामा भेटिएका थिए । ‘घरका सबै निन्द्रामा भाग्दाभाग्दै पहिरोमा परे, एकैपटक आएर घर पुरियो’, घाइते अवस्थामा भेटिएकाको भनाइ उद्यृत गर्दै वडा सदस्य भक्तिबहादुर घर्तीले भन ।
घाइतेको रुम स्वास्थ्यचौकीमा उपचार गरी मौसम अनुकूल भएपछि थप उपचारका लागि दरबाङ पठाउने तयारी भइरहेको छ ।