समाजसेवा र विकाससँगै राजनीति बुझ्दै देव सुन्दर बज्राचार्य

प्रतिक भट्ट

समाजसेवा र विकासलाई आत्मसात गर्दै जनताको सुख दु:खमा साथ दिनु असल राजनीति हो । यदि कसैले म असल राजनीति गर्दछु भन्छ भने ऊ जनताको सेवक हुन सक्नुपर्छ । भनाइ र गराइ दुवै मिल्नुपर्छ यसो भए मात्रै उसको राजनीति र व्यक्तित्व दुवै लोकप्रिय बन्दै जानेछ । यदि राजनीतिलाई कमाइ खाने र पैसा अनि शक्ति आर्जन गर्ने ठाउँ भनेर बुझियो भने जनताको ताली होइन गाली खाइन्छ ।

यस्तै राजनीतिलाई समाजसेवा र जनअपेक्षा अनुसार आफुलाइ पनि विकसित गर्दै अगाडी बढ्दै छन काठमाडौं महानगरपालिका वडा नम्बर ६ का वडा सदस्य देव सुन्दर बज्राचार्य । जनतासँग प्रत्यक्ष सरोकार राख्‍ने फोहोरमैला व्यवस्थापन, नाला र ढल अनि विद्युतको पोलसँगै सडकको दयनीय अवस्थाको गुनासो सुन्‍ने र त्यसमा वडाको तर्फबाट सहयोग गर्नुमै देवको दैनिकी बितेको छ ।

देव सुन्दर बज्राचार्य

दिनको २४ घन्टामा झन्डै १४ घन्टा देव यस्तै-यस्तै काममा व्यस्त हुन्छन् । उनी वडामा समस्या वा काम लिएर आएका कसैलाई पनि काम हुँदैन वा गर्न भ्याइँदैन भनेर फर्काउन पनि चाहन्‍नन् । सकेसम्म आजै काम सकेर पठाउन पाए भन्‍ने नै लागिरहने उनी बताउँछन् ।

वडा अध्यक्ष भुवन लामा र उनको टिमका सबै साथीहरू अनि कर्मचारीको समेत राम्रो सम्बन्ध भएकोले देवसहितको टिमले काम गर्न सजिलो भएको हो । नेपाली काँग्रेस काठमाडौं जिल्ला कार्यसमिति सदस्य हुँदै महाधिवेशन प्रतिनिधिसम्म हुँदा उनलाइ घर परिवारले पनि राम्रो साथ दिएको देव बताउँछन् । समाजसेवा र राजनीतिसँगै देवको आफ्नै सुनचाँदी व्यवसाय पनि छ ।

अहिले वडाको काममा व्यस्त हुनुपर्दा व्यवसायको जिम्मा उनले श्रीमती पुनम शाक्यलाई दिएका छन् । उनको सुनचाँदी व्यवसाय श्रीमती पुनमले सम्हालेका कारण पनि देवलाई टोलको सानोसानो काममा पनि सहयोग गर्न र आफैँ पुग्‍न सजिलो भएको छ ।

देवले योभन्दा अघिल्लो स्थानीय निर्वाचनमा पनि वडामा उठेर जनताको सेवा गर्ने मन गरेका थिए । तर त्यो अवसर ५ वर्ष पछि अहिले मिलेको छ । ‘मैले २०७४ मा पनि दाबी देखाएको हूँ’ उनले भने, ‘त्यो समयमा वडामा जनप्रतिनिधि हुने अवसर नपाउँदा पनि समाजको काम गर्न छाडिनँ त्यसैले अहिले जनताकै प्रतिनिधि भएर काम गर्ने अवसर पाएँ ।’ उनी काठमाडौंको ६ नम्बर वडालाई नमूना वडा बनाउनुपर्छ भनेर वडाअध्यक्ष भुवन लामासहित पुरै टिम लागेको बताउँछन् ।

हाल वडा कार्यविभाजनमा देवको जिम्मा फोहोरमैला व्यवस्थापनको संयोजक, शिक्षा विभागमा रहेर निजी र सामुदायिक बिद्यालय अनुगमन, सडक विभागसँग समन्वय गरी टोल र मुख्य सडकको अवस्था र विद्युतको समेत काम उनले हेर्दै आएका छन । बाटोको जिर्ण अवस्था अनि अव्यवस्थित इन्टरनेट र दुरसंचारका तारहरु व्यवस्थित गर्नुपर्नेमा उनको जोड छ । त्यसैले उनी वडाको प्रत्येक टोलका समस्यालाई न्यूनीकरण गर्दै जानु आफ्नो काम र कर्तव्य हो भन्‍ने ठान्छन् ।

वडा प्रतिनिधि भएर गमक्क पर्ने उनको बानी छैन । बरु देव बज्राचार्य चियापसलमा बसेर पनि वडाबासीको समस्या सुन्‍ने जनप्रतिनिधिमा पर्छन् । कहिलेकाँही त विहान ६ बजेदेखी राति १२ बजेसम्म पनि वडाकै समस्यामा केन्द्रीत रहेर टोलबासीको गुनासो सुन्छ्न् ।

अव्यवस्थित तारको व्यवस्थापनमा आफैं खटिँदै बज्राचार्य

अफिस समयमा वडामै भेटिने उनी त्योबाहेक पनि जुनसुकै समयमा आफ्ना वडाबासीको समस्यामा केन्द्रीत हुन्छन् । राजनीति र विकासलाइ एक साथ अगाडि बढाउने योजनामा बज्राचार्य रहेका छन् । उनी भन्छन्- ‘राजनीतिमा म अझै अगाडि बढ्ने हो त्यसैले मैले जनताको समस्यालाई आफ्नै समस्या ठानेर काम गर्नुपर्छ भन्‍ने राम्रोसँग बुझेको छु ।’

स्थानीय निकायलाई स्वच्छ र पारदर्शी बनाउने काममा पनि वडाको टिम पुरै लागेको उनको भनाइ छ । तर, कहिलेकाँही वडाको समस्या समाधान गर्न आफ्नो प्रयास मात्रै पुर्ण नहुने भएकोले ढिला हुनसक्छ, त्यस्तो बेला बाटोमा नै फोहोर फालेर रिस देखाउनेभन्दा पनि धैर्य गरिदिन वडाबासीलाई उनको अनुरोध छ ।

श्रीमती पुनम शाक्यका साथमा बज्राचार्य

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय