बाबुरामले कम्युनिस्ट हुन्‍नँ भनेपछि प्रचण्ड पछि हटे, समाजवादी केन्द्र धरापमा

काठमाडौं, १४ साउन । जनता समाजवादी पार्टी छाडेर कम्युनिस्ट नाम नराख्‍नेगरी सिंगो समाजवादी केन्द्र बनाउने अभियानमा लागेका पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले आफू कम्युनिस्ट नबन्‍ने भनेपछि उक्त अभियान नै धरापमा परेको छ ।

खासगरी पूर्वमाओवादी धारका कम्युनिस्ट पार्टीहरु समेत माधव नेपाल नेतृत्वको एकिकृत समाजवादी र वामदेव गौतम नेतृत्वको एकता अभियान मिलेर समाजवादी केन्द्र बनाउने र सोही नामबाट आगामी चुनावमा जाने छलफल चलिरहेको छ ।

तर, उक्त अभियानमा पूर्वमाओवादी नेता रहेका भट्टराईले कम्युनिस्ट नाम आउन नहुने अडान लिएपछि तत्काल समाजवादी केन्द्र नबन्‍ने भएको हो । यद्यपि समाजवादी केन्द्र बनाउने विषयमा छलफल भने भइरहेको छ ।

यसैबीच नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि तत्काल समाजवादी केन्द्र नबन्‍ने बताएका छन् । माओवादी पार्टीनिकट पत्रकारको भेलालाई सम्बोधन गर्दै प्रचण्डले चुनावअघि समाजवादी केन्द्र नबन्‍ने उल्लेख गरेका हुन् । यसले पनि अब काँग्रेस सहितको वर्तमान गठबन्धनले निरन्तरता पाउने र एमालेविरुद्ध अन्य दल मिलेर चुनावमा जाने देखिन्छ ।

संसदीय निर्वाचनमा काँग्रेससँगै गठबन्धनमा अघि बढ्ने पनि प्रचण्डले बताए । वर्तमान गठबन्धन मार्फतनै शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने उनको भनाई थियो ।

यता माओवादीसँग मिलेर समाजवादी केन्द्र बनाउने विषयमा एकीकृत समाजवादी भित्र समेत एकमत छैन । अध्यक्ष नेपाल प्रचण्ड, बाबुराम र वामदेव सहितको मोर्चा वा केन्द्र बनाउन सहमत भएपनि वरिष्ठ नेता झलनाथ खनाल माओवादीसँग भन्दा एमालेसँग गठबन्धन गर्ने मुडमा देखिन्छन् ।

जसपाको बाबुराम समुहमा पनि समाजवादी केन्द्र बनाउने विषयमा नेताहरूको फरक-फरक धारणा बाहिर आएको छ । सो समूहमा समाजवादी केन्द्र बनाउने तर कम्युनिस्ट शब्द नराख्‍ने विषयमा नेताहरूको छुट्टाछुट्टै भनाइ बाहिर आएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय