पत्रकार महासंघ काठमाडौंलाई तीन लाख सहयोग
राससकाठमाडौं, १३ साउन । दिवङ्गत पत्रकार एमडी कुलुङको परिवारले नेपाल पत्रकार महासंघ, काठमाडौं शाखालाई तीन लाख रुपैँया सहयोग गरेको छ ।

विभिन्न देशमा रहेका नेपालीबाट आर्थिक सहयोग संकलन गरी दिवङ्गत पत्रकार कुलुङको नामबाट महासङ्घलाई चेक हस्तान्तरण गरिएको पत्रकार महासंघ काठमाडौं शाखाका अध्यक्ष सूर्य सुवेदीले जानकारी दिए ।

सो रकम अक्षयकोषमा राखी एमडी कुलुङ स्मृति पत्रकारिता पुरस्कार नामकरण गरी वार्षिक तीन पत्रकार (एक फोटो पत्रकार र दुई खोजमूलक पत्रकारिता गर्ने पत्रकार)लाई हरेक वर्ष पुरस्कार वितरण गरिने उनले बताए । निश्चित मापदण्ड बनाएर निष्पक्ष रुपमा पुरस्कार प्रदान गरिने अध्यक्ष सुवेदीले जानकारी दिए ।
दिवङ्गत पत्रकार कुलुङकी श्रीमती विष्णुकुमारी लिम्बू, पूर्वविद्यार्थी नेता थोमस बाँस्तोला र महासङ्घ काठमाडौँ शाखाका पूर्वसचिव भुपराज खड्काको सक्रियतामा सो रकम सङ्कलन गरिएको हो ।