प्रचण्डसँग किन रिसाए देउवा ?
काठमाडौं, १२ साउन । वर्तमान सत्ता गठबन्धनलाई खल्बल्याउने गरी नेकपा माओवादी केन्द्रका अध्यक्षले अभिव्यक्ति दिन थालेपछि प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा झस्किएका छन् । उनी प्रचण्डको पछिल्लो गतिविधिबाट रिसाएको बुझिएको छ ।
केही सातादेखि माओवादी अध्यक्ष प्रचण्डले काँग्रेस र एमालेबाहेकको समाजवादी केन्द्र बनाएर निर्वाचनमा जाने तयारी गरेका छन् । आफू सर्वोच्च कमान्डर बन्ने महत्वकांक्षासहित प्रचण्डले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी, जनता समाजवादी (बाबुराम समुह) र बामदेव गौतम नेतृत्वको पार्टी एकता समन्वय समितिलाई मिलाएर समाजवादी केन्द्र बनाउने कसरत जारी राखेका छन् ।
प्रचण्डको यो अभियानलाई नेकपा एमालेले वास्ता नै गरेको छैन भने नेपाली काँग्रेसको संस्थापन पक्षले चाहिँ शंकाको रुपमा लिएको छ । समाजवादी केन्द्रको ढ्याङ्ग्रो बजाएर काँग्रेसलाई तर्साउन खोजेको भन्दै केही काँग्रेस नेताले प्रचण्डको आलोचना पनि गरेका छन् ।
तर प्रधानमन्त्री समेत रहेका काँग्रेस सभापति देउवाले भने प्रचण्डको यो गतिविधिलाई मन पराएका छैनन् । ‘आजभोलि देउवा र प्रचण्डबीच कुराकानी समेत हुन छाडेको छ’, काँग्रेस स्रोतले भन्यो, ‘प्रचण्डले प्रतिनिधि सभा र प्रदेश सभामा काँग्रेससँग बढी सिट दाबी गर्न यो षड्यन्त्र गरेको देउवाले राम्रोसँग बुझ्नुभएको छ ।’
नेपाली काँग्रेसले आगामी निर्वाचनमा आफ्नो एकल बहुमत आउने गरी सिट बाँड्फाड गर्न लागेको भन्दै माओवादीले आफुलाइ ५० सिट दिनुपर्ने भनेको छ । तर, काँग्रेसले माओवादीलाई २० देखि २५ सिट मात्रै दिन चाहेको छ । काँग्रेसले १०० सिटमा दाबी नछाड्ने र बाँकी ६५ सिटमा माओवादी, मधेशवादी, समाजवादी र बाबुराम समुहलाइ समेट्ने योजना बनाएको छ ।
नेपाली काँग्रेसको केन्द्रीय समिति बैठकमा गृहमन्त्री बालकृष्ण खाँडले माओवादीले ८ सिट ,जसपाको ४ र समाजबादीको १ सिट मात्रै जित्न सक्ने रिपोर्ट देखाएका थिए ।
त्यो रिपोर्ट बाहिरिएपछी प्रचण्डले चलाखि गर्दै समाजवादी केन्द्र बनाउने र काँग्रेसलाई १५ सिटमा झार्ने योजना बनाएको चर्चा छ ।