वेस्टइन्डिजसँगको एकदिवसीय श्रृंखला भारतद्वारा ‘क्लिनस्वीप’

काठमाडौं, १२ साउन । वेस्टइन्डिज भ्रमणमा रहेको भारतीय क्रिकेट टोलीले एकदिवसीय श्रृंखला क्लिनस्वीप गरेको छ । बुधबार भएको तेस्रो खेलमा ११९ रनको विशाल जीत निकाल्दै भारतले श्रृंखला क्लिनस्वीप गरेको हो ।

वर्षापछि डिएल प्रणालीबाट पाएको २ सय ५६ रनको विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिज २६ ओभरमा १३७ रनमा अलआउट भयो । कप्तान निकोलस पूरन र ब्रान्डन किङले समान ४२ रन बनाए भने अन्यबाट उल्लेख्य योगदान हुन सकेन ।

सातजना खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् भने त्यसमध्ये चारजनाले खाता नै खोल्न सकेनन् । वेस्टइन्डिजको इनिङ ध्वस्त गर्न स्पिनर युजभेन्द्र चहलले ४ विकेट लिए भने मोहम्मद सिराज र शार्दुल ठाकुरले २-२ तथा अक्षर पटेल र प्रसिद्ध कृष्णाले १-१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले ३६ ओभरमा ३ विकेट गुमाएर २ सय ३५ रन बनाएको अवस्थामा पानी परेपछि केहीबेर खेल रोकियो । शुभमन गिल ९८ रनमा अविजित थिए भने शिखर धवनले ५८ रन तथा श्रेयस अय्यरले ४४ रन बनाएका थिए ।

त्यसपछि भारतको इनिङ अगाडि बढेन र डिएल प्रणाली अनुसार वेस्टइन्डिजले ३५ ओभरमा २५७ रनको परिमार्जित लक्ष्य पाएको थियो।

पहिलो र दोस्रो खेल रोमाञ्‍चक बन्दा तेस्रो खेल भने भारतले सहजै जित्‍न सफल भयो र श्रृंखला क्लिनस्वीप गर्‍यो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय