माल्दिभ्सविरुद्ध नेपालको शानदार जीत
काठमाडौं, ९ साउन । सोमबारदेखि भारतमा सुरु भएको साफ यू-२० फुटबल प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ । सोमबार भएको पहिलो खेलमा नेपाली युवा टोलीले माल्दिभ्सको टोलीमाथि ४-० को फराकिलो जीत निकाल्न सफल भएको हो ।
नेपालको जीतमा दीपेश गुरुङ, सुगम सुवाल, क्रितिश रत्न छुन्जु र मनग्य नकर्मीले एक-एक गोल गरेका थिए । खेलको ४२औं मिनेटमा झण्डै २५ यार्ड टाढाबाट गरेको प्रहारले पोस्टको जाली चुम्दा नेपाल पहिलो हाफमा १-० ले अगाडि रह्यो ।
५८औं मिनेटमा सुगमले गोल गर्दै अग्रता दोब्बर पारे । ६२औं मिनेटमा कप्तान आयुषलाई माल्दिभ्सका खेलाडीले पेनाल्टी बक्समा फल गरेपछि नेपालले पेनाल्टी पाएको थियो । उक्त पेनाल्टीलाई क्रितिशले गोलमा परिणत गरे ।
इन्जुरी समयको चौथो मिनेटमा मनग्यले गोल गर्दै टोलीको ४-० को फराकिलो जीत सुनिश्चित गरे ।
नेपालले अर्को खेल बुधबार श्रीलंकासँग खेल्नेछ ।