संकटमा पोखराको फुलबारी रिसोर्ट

पोखरा, ९ साउन । पर्यटकीय नगरी पोखरामा रहेको अमात्य ग्रुपको फूलबारी रिसोर्ट लिलाम हुनबाट जोगिएको छ । उच्च अदालत पाटनको आदेश पछि लिलाम प्रक्रिया रोकिएको हो ।

उच्च अदालत पाटनका न्यायाधीश धिरबहादुर चन्दको इजलासले अन्तरकालीन आदेश जारी गर्दै साउन १५ मा दुबै पक्षलाई छलफलमा बोलाएको छ । सो दिनसम्म लिलामी प्रक्रिया अघि नबढ्ने जनाइएको छ ।

२०५५ सालमा लिएको १ अर्ब ३१ करोड रुपैयाँ ऋण तिर्न नसकेपछि ऋण दिने बैंकहरुले रिसोर्ट लिलामको प्रक्रिया अघि बढाएका थिए । बैंकहरुले अघि बढाएको प्रक्रियाअनुसार धितो लिलामीको लागि गोप्य शिलबन्दीमार्फत आवेदन दिने अन्तिम दिन उक्त आदेश भएको थियो ।

रिसोर्ट सञ्चालक पियुषबहादुर अमात्यले लिलाम प्रक्रिया रोक्न गएको असार २४ मा काठमाडौं जिल्ला अदालत र उच्च अदालतमा साउन ४ मा निवेदन दिएका थिए । सोही बमोजिम उच्चमा सुनुवाइ भएको हो । यो आदेशले अमात्य ग्रुपलाई सामान्य राहत मिलेपनी लिलाम प्रक्रिया पुर्ण रोकिएको भने होइन ।

रिसोर्टमा नेपाल बैंकको नेतृत्वमा राष्ट्रिय वाणिज्य बैंक (साविकको एनआईडीसी डेभलपमेन्ट बैंक समेत) र कर्मचारी सञ्चय कोषले १ अर्ब ३१ करोड रुपैयाँ ऋण लगानी गरेका थिए । जसमध्ये नेपाल बैंकले ६५ करोड, राष्ट्रिय वाणिज्य बैंकले ३५ करोड, कर्मचारी सञ्चय कोषले ३१ करोड रुपैयाँ लगानी गरेका थिए । हाल सो ऋणको साँवा र ब्याज गरी ४ अर्ब रुपैयाँ भन्दा बढी पुगेको छ ।

नेपाल बैंकले गत असार ३ मा रिसोर्ट सञ्चालक अमात्य र उनकी श्रीमतीको नाममा रहेको धितो लिलामीको सूचना प्रकाशित गरेको हो । ऋण तिर्न पटक–पटक म्याद थप गर्दा समेत नतिरेपछि लिलामी गर्नुपरेको नेपाल बैंकले जनाएको छ ।

नेपाल भ्रमण सन् १९९८ लाई लक्षित गरी संचालित सो रिसोर्टमा बैंकहरुले सञ्चालनमा आएको वर्ष नै ऋण लगानी गरेका थिए । बैंकले पोखरा वडा १५ स्थित रिसोर्ट तथा यसले चर्चेको १ सय २४ रोपनी जग्गा, सञ्चालक पीयुषबहादुर अमात्यको नाममा रहेको ६ रोपनी र गंगा अमात्यको नाममा रहेको ७ रोपनी ७ आना जग्गा लिलामी गरेर ऋण असुली गर्ने गरी बैंकले लिलामी राखेको छ ।

रिसोर्ट ४ सय रोपनी जग्गामा फैलिएको छ । रिसोर्टमा १ सय ६५ कोठाहरु छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय