भरतपुरमा श्रीमतीको हत्या गरी भाग्न खोज्दा श्रीमानको पनि मृत्यु
चितवन, ९ साउन । चितवनको भरतपुरमा एक पुरुषले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । हत्या गरेपछि भाग्न खोज्दा उनी आफैंले पनि ज्यान गुमाएका छन् ।
भरतपुर महानगरपालिका-१० रमाइलो चोकमा बस्ने ४३ वर्षीय कृष्ण आचार्यले श्रीमती रुष्मा आचार्यको हत्या गरेका हुन् । आइतबार राति करिब साढे १० बजेको समयमा खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
आफ्नै घरको तीन तला माथि रहेको बैठक कोठामा श्रीमतीलाई खुकुरी प्रहार गरेपछि तेस्रो तलाबाटै हाम फालेर भाग्न खोज्दा उनको पनि मृत्यु भएको हो ।
खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी श्रीमतीको उपचारको लागि नजिकै रहेको पुरानो मेडिकल कलेज लगिएकोमा केहीबेरमै चिकित्सकले मृत घोषणा गरेका थिए ।
तीन तलाबाट हाम फालेपछि गम्भीर घाइते भएका श्रीमानको पनि उपचारका क्रममा मृत्यु भएको हो ।