वेस्टइन्डिजमाथि भारतको रोमाञ्‍चक जीत

काठमाडौं, ७ साउन । वेस्टइन्डिज भ्रमणमा रहेको भारतीय क्रिकेट टोलीले एकदिवसीय श्रृंखलाअन्तर्गत पहिलो खेलमा घरेलु टोलीमाथि रोमाञ्‍चक जीत निकालेको छ । भारतले वेस्टइन्डिजलाई ३ रनले हराएको हो ।

३ सय ९ रनको विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिजले पूरा ५० ओभर खेलेर ७ विकेटको क्षतिमा ३ सय ५ रन मात्र बनाउन सक्यो । उसका लागि काइल मेयरले सर्वाधिक ७५ रन बनाए भने ब्रान्डन किङले ५४ तथा शामराह ब्रुक्सले ४६ रन बनाए ।

रोमारियो शेपहर्ड ३९ तथा अकिल होसेन ३२ रनमा अविजित रहे । भारतका मोहम्मद सिराज, शार्दुल ठाकुर र युजुभेन्द्र चहलले २-२ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ८ रन बनाएको थियो । उसका लागि शिखर धवनले ९७ रन बनाए भने शुभमन गिलले ६४ तथा श्रेयस अय्यरले ५४ रन बनाए ।

वेस्टइन्डिजका अल्जारी जोसेफ र गुडाकेश मोटीले २-२ विकेट लिए भने रोमारियो शेपहर्ड र अकिल होसेनले १-१ विकेट हात पारे ।

दोस्रो एकदिवसीय खेल आइतबार हुनेछ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय