कसले दुखायो माधव नेपालको मन ?
काठमाडौं, ७ साउन । आफ्नै पार्टीभित्रका नेताको असहयोग, नेकपा माओवादी केन्द्रसँग एकता गर्ने कुराको अन्यौल र समाजवादी केन्द्र निर्माणका आधार समेत नदेखेपछि यतिबेला नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल अलमलमा छन् ।
यता नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठकमा गृहमन्त्रीको प्रतिवेदन आउँदा अबको निर्वाचनमा उनको पार्टीले एक सिट मात्रै जित्ने भनेपछि अध्यक्ष नेपाल झन् झस्केको बताइन्छ ।
सत्ता गठबन्धनको नेतृत्व गरिरहेको काँग्रेसको भर्खरै सम्पन्न केन्द्रीय समिति बैठकले आफ्नै नेतृत्वमा पाँच वर्ष बहुमतको सरकार बनाउने गरी अहिलेको सत्ता गठबन्धनसँग चुनावी तालमेल गर्ने निर्णय गरेको थियो । जसमा १६५ सिटमध्ये झन्डै १०० राखेर अरु चार दललाई जम्मा ६५ दिने तयारी छ ।
नेपाली काँग्रेसको केन्द्रीय समिति बैठकले गरेको निर्णयले पनि अध्यक्ष नेपालको मन दुखाएको छ । आफ्नै पार्टीको सरकार ढालेर काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार गठनमा मुख्य भुमिका खेलेका नेपाललाई अहिले काँग्रेसले गरेको निर्णयले आफू हेपिएको र मन दुखेको जस्तो लागेको छ ।
नेपाली काँग्रेसको केन्द्रीय समिति बैठकले ‘गठबन्धनमा रहेका दलहरूका बीचमा तालमेल गर्दा संविधानको कार्यान्वयन, आर्थिक सामाजिक रुपान्तरण र वैदेशिक सम्बन्ध लगायतका विषयमा न्यूनतम साझा धारणा निर्माण गर्दै आम नेपाली जनतालाई पाँच वर्षमा स्थिर सरकारमार्फत जनताको जीवनस्तरमा गुणात्मक सुधार ल्याउने स्पष्ट कार्यक्रमको खाकासहित आमनिर्वाचनमा नेपाली कांग्रेस प्रस्तुत हुनु पर्दछ’ भन्ने ठहर गरेको छ ।
साथै तालमेल गरिरहँदा नेपाली काँग्रेसको मुख्य नेतृत्वदायी भूमिका रहेको यथार्थ, सांगठनिक वस्तुस्थिति तथा पार्टी पंक्ति एवं शुभेच्छुकको भावनालाई दृष्टिगत गर्दै गठबन्धनमा रहेका दलहरुसँग संवादमार्फत निष्कर्षमा पुग्ने निर्णय पनि काङ्ग्रेसले गरेको छ ।
काँग्रेसको यो निर्णय बाहिरिएसँगै अध्यक्ष नेपाल बाम तालमेल वा समाजवादी केन्द्र गठन भन्नेमा लागेका छन् । काँग्रेसमा घमण्ड बढेको भन्दै कम्युनिस्टहरु एक भएर काँग्रेसलाई औकात देखाइदिने भन्नेमा अध्यक्ष नेपालसहित केही नेताहरू छलफलमा समेत जुटेका छन् ।