न्युजिल्यान्डले आयरल्यान्डलाई हरायो, ब्रेसवेलको दुर्लभ ह्याट्रिक
काठमाडौं, ५ साउन । आयरल्यान्ड भ्रमणमा रहेको न्युजिल्यान्ड क्रिकेट टोलीले टी-२० श्रृंखलाअन्तर्गत दोस्रो खेलमा पनि आयरल्यान्डमाथि सहज जीत निकालेको छ । न्युजिल्यान्डले आयरल्यान्डलाई ८८ रनले हराएको हो ।
१८० रनको विजयी लक्ष्य पछ्याएको आयल्यान्ड १३.५ ओभरमा ९१ रनमा अलआउट भयो । उसका लागि मार्क अडेयरले सर्वाधिक २७ रन बनाए भने ओपनर पल स्टर्लिङले २१ रन बनाए ।
न्युजिल्यान्डका इश सोधी र माइकल ब्रेसवेलले ३-३ विकेट लिँदा जेकब डफीले २ तथा लकी फर्गुसनले १ विकेट लिए । टी-२० अन्तर्राष्ट्रिय करियरमा पहिलोपटक बलिङ गरेका ब्रेसवेलले पहिलो ओभरमै ३ विकेट लिएका थिए त्यो पनि ह्याट्रिकको रुपमा ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १७९ रन बनाएको थियो । उसका लागि डेन क्लिभरले अविजित रहँदै ७८ रन बनाए भने फिन एलेनले ३५ तथा ग्लेन फिलिप्सले २३ रन बनाए । आयरल्यान्डका क्रेग योङ र जोसुवा लिटिलले २-२ विकेट लिए ।
यसअघि भएको पहिलो टी२० खेलमा पनि न्युजिल्यान्ड ३१ रनले विजयी भएको थियो । तेस्रो तथा अन्तिम टी-२० खेल शुक्रबार हुनेछ ।