समृद्धिको सपनामा सन्तोष

प्रतिक भट्ट

हामीले यसपटक एकजना यस्तो राजनीतिक व्यक्तित्व भेट्यौं, जसको मनमा टोल, समाज र राष्ट्रको विकास अनि समृद्धि कसरी हुन्छ भन्‍ने बाहेक केही नकारात्मक सोच नै थिएन । केही नकारात्मक सोच थिएन यसकारण भन्‍न खोजिएको हो कि उनमा कोही कसैप्रति आग्रह, पुर्वाग्रह र दुराग्रह भेट्न गाह्रो रहेछ । आम मानिसमा हुने रिस, राग, द्वेष र कटुताभाव उनीमा भेट्न गाह्रो रहेछ ।

काठमाडौंको छहारी युवा क्लबको सामुदायिक भवन उद्घाटन समारोहमा भेटिएका उनी गोकर्णेश्वर नगरपालिकाका निवर्तमान नगरप्रमुख सन्तोष चालिसे रहेछन् । उनको बोली र व्यवहार ठ्याक्कै व्यक्तित्वसँग मेल खाने देखेपछि हामीले उनलाई केही कुरा राखिदिन अनुरोध गर्‍यौं । हाल नेपाली काँग्रेस काठमाडौं क्षेत्र नम्बर-३ का पार्टी सभापति समेत रहेका सन्तोष चालीसे विगत ४० वर्षदेखि सामाजिक सेवासँगै राजनीतिमा रहेछन् ।

नेपाली राजनीतिमा धेरैजसो नेताको दैनिकी पार्टी नेताका घर वा डेरा, पार्टी कार्यालय र मन्त्रीदेखि प्रधानमन्त्री निवाससम्म गएर बित्‍ने गर्दछ । तर, चालिसेले अहिलेसम्म आफ्नो निजी काम वा लाभको पदको लागि नेताको घर गएर बिन्ती बिसाएका छैनन् । ‘म जनताको गुनासो सुन्‍ने, उनीहरुको दैनिक जीवनको गाह्रो अफ्‍ठ्यारोमा साथ दिने अनि टोल, गाउँ, नगर र समग्र राष्‍ट्रको विकासको नयाँनयाँ मोडल के हुनसक्छ भनेर सोचमग्‍न हुने मानिस हुँ’, परेवान्युजसँगको कुराकानीमा उनले भने, ‘सायद यहि कारणले होला आफ्नो टोलको युवा क्लबको नेतृत्व लिएपछि वडा, गाविस हुँदै २०७४ सालको स्थानीय निर्वाचनमा गोकर्णेश्वर नगरपालिकाको प्रथम मेयरमा निर्वाचित भएर जनताको सेवा गर्न पाएँ ।’

सबैले विकासका लागि पैसा चाहिन्छ, पैसा भए मात्रै विकास हुन्छ भन्‍ने तर्क गर्दा सन्तोष चालिसे भने यो कुरामा पूर्ण सहमत छैनन् । उनी भन्छन, ‘विकास निर्माणको लागि पैसा सहायक हो, त्यो भन्दा अगाडि सकारात्मक सोच, दक्ष र शिक्षित समाज हुनु आवश्यक छ ।’

पञ्‍चायतको समयदेखि बहुदलीय व्यवस्था, लोकतन्त्र र गणतन्त्रमा समेत निर्वाचित जनप्रतिनिधि बनेका सन्तोषले महिला, युवा र सामाजिक अभियन्तालाई जहिले पनि समर्थन गरे । महिलाको क्षमता विकास भयो भने घर बलियो हुन्छ, युवा दक्ष भएमा राष्ट्र बलियो र सामाजिक अभियान्ता मेहेनती भएमा सकारात्मक समाज निर्माण हुन सक्छ भन्‍ने मान्यता सन्तोषको रहेछ ।

नेपाली काँग्रेसको राजनीतिमा बिपी कोइराला, गणेशमान सिंह र सन्त नेता कृष्णप्रसाद भट्टराईलाई आदर्श मान्‍ने चालिसे अरुले बाहिर हल्ला गरेजस्तो पार्टीभित्र कुनै गुट नभएको र सबै नेपाली काङ्ग्रेसकै विचार बोक्ने नेता कार्यकर्ता मात्रै भएको देख्छन् । पार्टी सभापति शेरबहादुर देउवादेखि नेता रामचन्द्र पौडेल, डा.शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, गगन थापा, विश्‍वप्रकाश शर्मा, डा. प्रकाशशरण महत, बालकृष्ण खाँण, पूर्णबहादुर खड्का, धनराज गुरुङ वा अरु नेता जोसुकैले जे बोलेपनि काँग्रेस भएरै बोलेका हुन्’, उनी भन्छन्, ‘मलाई कोही पनि साथीहरूले बोल्दा काँग्रेस हितभन्दा बाहिर सोचेर बोल्नुहुन्छ भन्‍ने नै लाग्दैन, त्यसैले म गुट, उपगुट भन्दा पनि सिंगो काग्रेसको एउटै मात्र गुट देख्छु ।’

२०३९ सालदेखि जनताको सेवा गर्दै आएका चालिसे राजनीतिबाहेक सामाजिक र व्यवसायिक काममा पनि उत्तिकै पोख्त छन् । काठमाडौं आरुबारी क्षेत्रको स्थानीयवासी भएको कारण उनको अहिले पनि खेत रोप्‍नेदेखि गाई पालेर आफ्नै उत्पादनले भान्सा सजाउँछन् । अर्कोतिर फार्मेसी र रिसोर्ट संचालनबाट हुने आम्दानीले घर व्यवहारसँगै राजनीतिमा लाग्‍न पनि खर्च पुगेको छ । “मलाइ राजनीति गर्न कसैसँग चन्दा लिनुपर्ने वा पदको दुरुपयोग गरेर सम्पत्ति कमाउनुपर्ने छैन’, उनी भन्छन्, ‘मलाई राजनीतिमा लागेर पैसा कमाउने इच्छा कहिल्यै भएन, बरु राजनीतिमा इमान पनि हुन्छ भनेर देखाउन कोसिस जारी राखेको छु ।’

राजनीति र समाजसेवालाई साथ साथ अगाडि बढाएका सन्तोष चालिसेको अबको यात्रा के हो भन्‍ने जिज्ञासामा उनी भन्छन्, ‘मेरो चाहना भन्दा पनि जनताको मप्रतिको अपेक्षालाई मैले पूरा गर्ने हो, जनताले वडादेखि गाविस र नगरपालिका राम्रोसँग हाँक्नुभयो अब संघीय सांसद भएर देश विकासको नेतृत्व गरिदिनु्स भन्नुभएको छ, जनताको यही चाहना र अपेक्षा नै मेरो पनि चाहना हुनु स्वभाविक नै होला ।’

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय