नेपालमाथि स्कटल्यान्डको सहज जीत

काठमाडौं, १ साउन । स्कटल्यान्ड भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले आइसिसी विश्‍वकप लिग २ अन्तर्गत यस श्रृंखलाको अन्तिम खेलमा पनि हार व्यहोरेको छ । स्कटल्यान्डले नेपाललाई सहजै ८ विकेटले हराएको हो ।

१ सय २९ रनको सामान्य विजयी लक्ष्य पाएको स्कटल्यान्डले १९ ओभरमा २ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो । उसका लागि क्यालम म्याकलडले विस्फोटक ब्याटिङ गर्दै २९ बलमा ६४ रन बनाएर जीतको नजिकै पुग्दा आउट भए ।

त्यस्तै ओपनर काइल कोट्जर ४४ रनमा अविजित रहे । नेपालका लागि कप्तान सन्दीप लामिछाने र सोमपाल कामीले १ १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले खराब ब्याटिङ प्रदर्शन गर्दै ३५.५ ओभरमा केवल १ सय २८ रनमा समेटियो । नेपालका लागि आसिफ शेखले सर्वाधिक ४० रन बनाउँदा सन्दीप लामिछानेले २२ रन बनाए ।

विनोद भण्डारीले १३ तथा देव खनाल र रोहित पौडेलले समान १० रन बनाए भने सोमपाल कामी र करण केसीले ७-७ रन बनाउँदा कुशल भुर्तेल ३ रनमा आउट भए । आरिफ शेखले खाता खोल्न सकेनन् ।

स्कटल्यान्डका हम्जा ताहिरले ४, मार्क वाटले ३, गाभिन मेनले २ तथा क्रिस माकब्राइडले १ विकेट हात पारे ।

जीतपछि स्कटल्यान्ड लिग टु को तालिकामा २४ खेलबाट ३४ अंकसहित दोस्रो स्थानमा यथावत् छ भने नेपाल २० खेलबाट १७ अंकसहित छैठौं स्थानमा छ ।

योसँगै स्कटल्यान्ड नेपाल र नामिबियाबीचको यस त्रिकोणात्मक श्रृंखला सकिएको छ र अब केही समयमा नै लिग २ अन्तर्गत नै अर्को श्रृंखला हुनेछ ।

सबै टोलीले कुल ३६ खेल खेल्नुपर्ने हुन्छ । अहिलेसम्म ओमानले मात्र आफ्ना सबै खेल सकाएको छ र ३६ खेलबाट ४४ अंकसहित शीर्षस्थानमा छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय