ब्याटिङ नचल्दा नामिबियासँग नेपालको दोस्रो हार

काठमाडौं, १ साउन । स्कटल्यान्ड भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले आइसिसी विश्‍वकप लिग २ अन्तर्गत यस श्रृंखलाको तेस्रो खेलमा दोस्रो हार व्यहोरेको छ । नेपाल नामिबियासँग ६३ रनले पराजित भएको हो ।

२०० रनको मध्यम विजयी लक्ष्य पाएको नेपाल ३७.५ ओभरमा १३६ रनमा रनमा समेटियो । दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३८ रन बनाउँदा आसिफ शेखले ३४ रन बनाए । नामिबियाका बर्नार्ड स्कोल्जले ५ विकेट लिँदा जान फ्राएलिन्कले ३ तथा कप्तान जेरार्ड इरास्मसले १ विकेट हात पारे ।

सुरुवातदेखि नै विकेट गुमाउन थालेको नेपालले पावरप्लेभित्रै ३ विकेट गुमाइसकेको थियो । ८२ रनमा ५ विकेट गुमाइसकेको अवस्थाबाट दीपेन्द्रले आरिफ शेखसँग मिलेर रनको गति विस्तारै उकास्‍न खोजेका थिए तर आरिफ एलबिडब्लुमा आउट हुँदा दीपन्द्र २ रन लिने क्रममा रनआउट भए । पवन सर्राफ अन्त्यसम्म १० रनमा अविजिथ थिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले ४९.२ ओभरमा अलआउट हुँदै १९९ रन बनाएको थियो । उसका लागि कप्तान जेरार्ड इरास्मसलेे ५३ रन बनाउँदा डेविड विजाले ३४ रन बनाए ।

नेपालका लागि कप्तान सन्दीप लामिछानेले ४ विकेट लिँदा सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले २-२ तथा आदिल आलमले १ विकेट लिए ।

जीतपछि नामिबिया लिग टु को तालिकामा १८ खेलबाट १८ अंकसहित पाँचौं स्थानमा उक्लिएको छ भने नेपाल १८ खेलबाट १७ अंकसहित छैठौं स्थानमा झरेको छ ।

अर्को खेल नेपालले आजै आइतबार स्कटल्यान्डसँग खेल्ने छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय