व्यवसायसँगै राजनीतिमा अब्बल बन्दै नानु
प्रतिक भट्टनेपालको संघीय राजधानी काठमाडौंको गौरीघाट स्थित गुह्वेश्वरी मन्दिर नजिकै एउटा फेन्सी तथा कस्मेटिक पसल छ । पसलको साजसज्जा र सामानको गुणस्तर जति उच्च छ त्यति नै सञ्चालकको व्यवहार पनि सरल र सहज छ । आकर्षक पसल अनि सञ्चालकको असल व्यवहारले ग्राहकलाई अझै सरल बनाइदिएको छ । त्योसँगै तपाईंलाई पसलको नामले पनि लोभ्याउन सक्छ । सबैलाई आकर्षित गर्ने पसलको नाम नै युनिक छ- ‘आफनो पसल’ । त्यसैले होला पसलमा आउने सबैले ‘आफ्नै पसल’ ठान्छन् ।
विगत २२ वर्षदेखि सञ्चालनमा रहेको यो पसल काठमाडौं महानगरपालिका-६ महाकांल निवासी पुष्कर नेपाल र नानु दाहालले चलाएका छन् । पेशाले शिक्षक रहेका पुष्कर नेपाल विद्यालय र कलेजपछि बचेको समयमा पसलको व्यवस्थापन हेर्छन । पसलको व्यापार चाहिँ श्रीमती नानु दाहालले हेर्दै आएकी छिन् । तर, नानु दाहालको परिचय पसलको सञ्चालक मात्रै होइन । घर परिवार व्यवस्थापनसँगै नानुको अर्को परिचय छ समाजसेवी एवं राजनीतिकर्मी । उनी विगत २७ वर्षदेखि नेपाली काँग्रेसको राजनीतिमा सक्रिय छिन् ।
ओखलढुङ्गा जिल्लाको नेपाली काँग्रेसको राजनीतिमा मुख्य भूमिका खेलेको दाहाल परिवारमा जन्मिएकी नानु परिवारको साईंली छोरी हुन् । बुबा बलभद्र दाहाल र आमा झिलादेवी दाहाल दुवै नेपाली काँग्रेस ओखलढुङ्गाको पुराना काँग्रेस नेता हुन् । उनको बुबा यसअघि नेपाली काँग्रेसबाट निर्वाचित वडा सदस्य हुन् । पञ्चायत विरोधी आन्दोलनमा मुख्य भूमिका खेलेको यो परिवार नेपालको प्रजातान्त्रिक आन्दोलन र १० वर्षे माओवादी आन्दोलनबाट पीडित परिवार पनि हो । माओवादी जनयुद्धका बेला परिवारले धेरै दुःख पाएको नमिठो अनुभव पनि नानु दाहालसँग छ ।
आमाको राजनीतिप्रतिको लगाव र राजनीतिक जीवनलाई हेरेर नेपाली काँग्रेसको समर्थक हुँदै प्रजातान्त्रिक आन्दोलनमा लागेकी नानु दाहाल राजधानी काठमाडौंको पद्मकन्या कलेज पढ्दादेखि दाजु यादवप्रसाद दाहालको प्रेरणाबाट नेपाली काँग्रेसको भ्रातृ संगठन हुँदै पार्टी राजनीतिमा आइपुगेकी हुन् । काकाहरु होमनाथ दाहाल, पुरुषोत्तम दाहाल, राजेन्द्र दाहालको राजनीतिक जीवन पनि उनले नजिकबाट देखिन् । उनलाई आफ्नो राजनीतिक अभियानमा चाहिँ श्रीमान, सासु-ससुरा र परिवारका सदस्य अनि काका, काकी, दिदीबहिनी, आफन्त सबैले साथ दिएका छन् जसले गर्दा राजनीतिमा अगाडि बढ्न हौसला र उर्जा मिलेको उनी बताउँछिन् ।
हाल नेपाली काँग्रेस बागमती प्रदेश सदस्य रहेकी दाहाल घरपरिवार, व्यवसाय र राजनीतिमा उत्तिकै दख्खल राख्छिन् । माइतीमा बुबा-आमाबाट राजनीति सिकेकी नानुलाई घरमा पनि ससुराबाट राजनीतिमा अगाडी बढ्न कहिल्यै रोकावट भएन । ‘मलाई मेरो परिवारका कुनैपनि सदस्यले राजनितीमा लाग्न हुँदैन भन्नुभएन’, उनी भन्छिन्, ‘परिवारको साथ, सपोर्ट र हौसला नभएको भए सायद म व्यवसाय र राजनीति दुवैमा सफल हुन सक्दिनथिएँ ।” उनका श्रीमान् र परिवारका सबै सदस्यले राजनीतिमा लाग्नुपर्छ तर, बेइमान र झुटको सहारा लिएर लाग्नुहुन्न भन्ने गरेको सम्झँदै उनी भन्छिन्-‘म बिपी कोइरालाको आदर्श र नेपाली काँग्रेसको मुल सिद्धान्तबाट कहिल्यै विचलित हुन्न भन्ने कसम खाएर राजनीतिमा आएको छु, जस्तोसुकै कठिन परिस्थितीमा पनि काँग्रेसको आदर्श, परिवारको माया, देश र प्रजातन्त्रप्रतिको निष्ठा र कसमलाई तोड्ने छैन ।’
राजनीतिमा लागेपछि माथिल्लो पदमा पुग्ने आशा सबैलाई हुन्छ । तर पदमा पुग्नकै लागि पैसा र पावरसँगै अनेकौं छलकपट र जुन खालको होडबाजी हुने गरेको छ त्यसमा पनि उनको फरक धारणा रहेको छ । “राजनीति भनेको कुनै नाफामुखी व्यापार वा मनग्य धनआर्जन गर्ने माध्यम हुँदै होइन” उनी भन्छिन्-“नाफाको लागि त व्यापार गर्ने हो, राजनीति गर्ने हो भने निस्वार्थ भावनाले समाजसेवा गर्छु भन्न सक्नुपर्छ ।”
राजनीतिमा बिताएको लामो समय र अग्रज एवं साथीहरुको मायाकै कारण आजको अवस्थासम्म आइपुगेको बताउने नानुलाई अब देशको सेवाको लागि जनताको प्रतिनिधि बन्नुपर्छ भन्ने शुभचिन्तकहरु पनि थुप्रै छन् । आफ्नै पार्टी नेपाली काँग्रेसबाट त अग्रज र साथीहरुले नानु अगाडी बढ भनेकै छन् त्यसमाथी अन्य पार्टीका महिला साथीहरु र शुभेच्छुकले समेत हौसला दिने गरेको उनी बताउँछिन् ।
अबको यात्रा प्रदेशसभा कि प्रतिनिधिसभा भन्ने हाम्रो जिज्ञाषामा उनको जवाफ थियो-“पार्टीका नेता, अग्रज र साथीहरुले जुन ठाउँमा ठीक देख्नुहुन्छ त्यही ठाउँमा उभिएर समाज, देश र जनताको सेवा गर्ने रहर छ ।” उनलाई पार्टीका नेताहरुले पनि अब प्रतिनिधिसभा वा प्रदेशसभामा उठ्न सुझाव दिइरहेका छन् । उनले पनि राजनीतिक जीवनमा अग्रजलाई सम्मान गर्दै आफु अगाडि बढ्ने बताइन् ।