प्रशंसित कम्पनीको सूचीमा मेटलाइफ
काठमाडौं, ३१ असार । जीवन बीमा कम्पनी ‘मेटलाइफ’ विश्वका प्रशंसित कम्पनीहरुको सूचिमा परेको छ । फर्च्युन म्यागजिनद्वारा २०२२ का लागि जारी गरिएको ‘विश्वका प्रशंसनीय कम्पनी’हरुको सूचीमा मेटलाइफ कम्पनी पनि परेको हो ।

सर्वोत्तम मानिएका कम्पनीहरुको वार्षिक प्रतिवेदन कार्डमा मेटलाइफ सहित आठ जीवन बीमा कम्पनीहरु समावेश गरिएको थियो ।

लगानी मूल्य, व्यवस्थापनको गुणस्तर, सामाजिक उत्तरदायित्व तथा प्रतिभालाई आकर्षित गर्ने क्षमताजस्ता नौ विभिन्न कारकहरुमा बीमा उद्योगका कार्यकारीहरु, निर्देशकहरुसँग सर्वेक्षण गरी सूचीमा राखिएको मेटलाइफले जनाएको छ ।
बीमा उद्योगमा सबैभन्दा बलियो प्रतिष्ठा भएका कम्पनीहरुको पहिचानका लागि फर्च्युनको ‘कर्न फेरी’ नामक विश्वव्यापी संगठनात्मक परामर्शदाता कम्पनीसँग सहकार्य रहेको छ ।
मेटलाइफका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत, मिशेल खलाफले आफ्नो कम्पनी जीवन बीमा उद्योगमा सबैभन्दा प्रशंसनीय कम्पनीहरुमध्ये एक भएकोमा खुसी व्यक्त गरे । साथै उनले फर्च्युनद्वारा प्रदान गरिएको यो मान्यताको श्रेय कर्मचारीमा जाने बताए ।
मेटलाइफ सन २००१ देखि नेपालमा अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनीको शाखाको रुपमा सञ्चालन भइरहेको छ । मेटलाइफले नेपालमा व्यक्तिगत ग्राहक तथा व्यवसायहरुलाई जीवन बीमा, दुर्घटना एवं स्वास्थ्य बीमा तथा संस्थागत कर्मचारी लक्षित समूह बीमा प्रदान गरिरहेको छ ।