काँग्रेस वरियतामा पाँचौंसम्म देउवा मात्रै !

 

काठमाडौं, २९ असार । नेपाली काँग्रेसले पार्टी सभापतिदेखि साधारण सदस्यसम्मको वरियता तोकेको छ । वरियताको पहिलो नम्बरदेखि पाँचौं नम्बरसम्म प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवा मात्रै रहने देखिन्छ ।

समाजवादलाई आफ्नो मुख्य सिद्धान्त बनाएको काँग्रेसले गरेको वरियतालाई धेरै नेताहरुले असमान भन्दै आश्‍चर्य मानेका छन् । विशेषगरी प्रदेश सभापति र केन्द्रीय सदस्यको वरियता चित्तबुझ्दो नभएको नेताहरुको गुनासो छ । काँग्रेसमा कुनै केन्द्रीय सदस्य सभापतिसम्म हुन १२१ वरियता पार गर्नुपर्ने हुन्छ ।

तोकिएको वरियताअनुसार पार्टी सभापति देउवा पहिलो नम्बरमा छन् । दोस्रोमा पूर्व केन्द्रीय सभापति र तेस्रोमा प्रधानमन्त्री रहने भनिएको छ ।

तर देउवाबाहेक सबै पूर्वसभापतिको निधन भइसकेको छ । त्यसकारण दोस्रो वरियतामा स्वतः उनी नै हुने भए । प्रधानमन्त्री रहेका कारण तेस्रो वरियतामा पनि उनी नै छन् ।

चौथोमा पूर्वप्रधानमन्त्री र पाँचौंमा संसदीय दलको पूर्वनेता रहने भनिएको छ । देउवाबाहेक काँग्रेसबाट सबै पूर्वसभापतिको निधन भइसकेको छ भने संसदीय दलको पूर्वनेता पनि उनी मात्रै हुन् । त्यसकारण दुवै वरियतामा उनी नै रहने भए ।

यसैगरी छैटौं वरियतामा हालको पदाधिकारी छन् भने त्यसपछिको वरियतामा पूर्वपदाधिकारीहरु छन् ।

नेपाली काँग्रेसका कार्यक्रमहरुमा उपस्थित नेताहरुलाई मर्यादाक्रअनुसार सम्बोधन गर्न समस्या भएपछि सभापति देउवाले वरियता निर्धारण गर्न समिति बनाएर निर्देशन दिएका थिए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय